काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने घोषणा गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीले भोग्नु परेको समस्याकाबारेमा सरकार जानकार रहेको भने स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई फर्काउने गरी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने छ । अहिले मुलुकबाहिर रहेका नेपालीहरूको घर फर्किने क्रम बढेको छ । मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु । नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ । म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
उनले अगाडि भने, ‘नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरेपछि विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै उद्धार गरिने छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीकाबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’
गत हप्ता संसदमा नेपालमा जनशक्ति र क्वारेन्टाइनको पर्याप्त सुविधा नभएको भन्दै विदेशमा रहेका नेपालीहरूको तत्काल उद्धार गरी स्वदेश फर्काउन नसकिने बताएका प्रधानमन्त्रीले एक हप्ता नबित्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने भनेर राष्ट्रका नाममा गरेको संवोधनलाई उद्धारको पर्खाईमा विदेशमा रहेका नेपालीहरुले विश्वास गरिहाल्ने अवस्था नरहेको विदेशमा अलपत्र परेका नेपालीहरु बताउँछन् ।
करिब एक महिनादेखि स्वदेश फर्किने दिन कुरेर कुवते सरकारले सञ्चालन गरेको सेल्टरमा बसेका म्याग्दीका टक गर्बुजाले भने, ‘संवोधनमा नै हामीहरुलाई फर्काउने ठोस् योजना ल्याउनु पर्दथ्यो, त्यस्तो योजना नआउँदा विश्वस्त हुन सक्ने अवस्था छैन ।’
संसदमा प्रधानमन्त्रीले एक हप्ताअघि दिएको अभिव्यक्तिको प्रतिपक्षी दलका नेतालगायत विदेशमा रहेका नेपालीहरुबाट आलोचना भइहरको बेला सोमबार विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन आदेश जारी गर्ने भनाइले सरकार विदेशबाट नेपालीलाई फर्काउन तयार भएको जस्तो देखिएको छ । तर आगामी जेठ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा आएको प्रधानमन्त्री ओलीको संवोधनको कार्यान्वयनमा कतिपयले प्रश्न उठाएका छन् ।
किनकी विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भन्न सजिलो छ तर उनीहरुलाई ल्याउने तयारी गर्न गाह्रो भएको छ, उनीहरुलाई व्यवस्थापन गर्ने जनशक्ति उतै छ, विदेशमा रहेका मानिसलाई यहाँ ल्याउने सेन्टिमेन्टमा क्वारेन्टाइनको व्यवस्था नगरी ह्वारह्वारी ल्याउने र कोरोना मात्र फैलाई देश नै सोत्तर बनाउन चाहदैनौं भनी प्रधानमन्त्री ओलीले संघीय संददको संयुक्त बैठकलाई जवाफ दिएको एक हप्ता पनि पूरा भएको छैन ।
नेपालमा पछिल्लो एक हप्ताकाबीचमा संक्रमितहरुको संख्या दोब्बर भएको छ । भारतले रेल सेवा सञ्चालन गरेपछि स्वदेश फर्किएका नेपाली कामदार जेठ महिनाको चर्को घाममा स्वच्छ पिउने पानी विना नै सञ्चालन गरिएका क्वारेन्टाइनमा बस्न बाध्य भइरहेका छन् । क्वारेन्टाइनको सुविधाको विषयलाई लिएर कतिपय ठाउँमा झडप भई नेपाली सेना नै परिचालन गर्नु परिरहेको छ ।
संघीय संसद्मा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई फर्काउने विषयमा नेपालको राष्ट्रिय क्षमतामा नै प्रश्न उठाएका थिए । उनले भनेका थिए, ‘कतारले नेपालबाट सयजना लैजानु र हामीले कतारबाट पौने चार लाख नेपालीलाई ल्याएर व्यवस्थापन गर्नु एउटै विषय होइन । विदेशमा ४० देखि ४५ लाख नेपाली रहेका छन् । हामीसँग ४/५ वटा मात्र जहाज छन् । उनीहरुलाई कसरी फिर्ता ल्याउने हो, मेरो त गणित अलिक कमजोर रहेको छ, तपाईंहरु नै हिसाव लगाउनुहोस् ।’
सोमबार राष्ट्रका नाममा भएको संवोधनामा विदेशमा रहेकाहरुलाई तत्काल स्वदेश फर्काउने आदेश जारी गर्ने भनाइ यसअघि प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समिति, सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगले उपयुक्त प्रवन्ध गरी विदेशमा रोजगारी गुमाई वा अन्य कारण अलपत्र परेका नेपालीहरुलाई ल्याउन नेपाल सरकारलाई दिएको निर्देशनको जवाफ त होइन भन्ने कतिपयको आशंका छ ।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपालीहरुलाई फर्काउने तयारी गरिरहेको पटक–पटक सार्वजनिक गरिरहेको छ । तर विदेशमा चरम समस्या व्यहोरिरहेका आफ्ना नागरिक फर्काउने निर्णय गर्न सकिरहेको छैन ।
विदेशमा हजारौं नेपाली संक्रमित रहेका छन् । १५ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले करिब ६ लाख नेपालीको उद्धार गर्नुपर्ने र करिब ३ लाखलाई तत्काल उद्धार गर्नुपर्ने संसदीय समितिलाई जानकारी दिएका छन् । यस्तो अवस्थामा नेपालले वास्तवमै आफ्ना नागरिक फर्काउला वा आदेश जारी गरेर मात्रै बस्ला ? प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा आएको संवोधन सँगसँगै यो प्रश्न समेत उठेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies