काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ आउला प्रकरणमा बेपत्ता भएका तीन जना मंगलबार साँझसम्म पनि फेला पर्न सकेका छैनन् । भेरी नदी किनारमा भेटिएका तीन जनाको भने जिल्ला अस्पताल शव जाजरकोट जिल्ला अस्पतालमा राखिएको छ । तर, आफन्तले शव बुझ्न मानेका छैनन् ।
गएको जेठ १० गते चौरजहारीमा केटी लिन गएका जाजरकोट भेरी नगरपालिकाका ती युवाको शव फेला परेको छ । जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराज, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ आउलाका वीरबहादुर मल्लकी छोरी लिन नवराज सहितको टीम भेरी नगरपालिकाबाट त्यहाँ गएका थिए ।
तर, दलित समुदायका केटा भएको भन्दै केटी लिन गएका समूहमाथि आक्रमण भएको थियो । आक्रमण पछि बेपत्ता भएका भरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक अझै बेपत्ता छन् ।
संसदीय समितिको माग
उक्त घटनाको अनुसन्धान गर्न प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समितिको गठन हुनुपर्ने माग राखेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरे ।
घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उनको भनाइ थियो । “जातीय विभेदको घटनाबाट ६ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्”, उनले भने ।
सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् भएको बताए । स्थानीय जनप्रतिनिधिको रहोवरमा घेराबन्दी गरेर दलित युवामाथि साङ्घातिक हमला गरिएको पाइएको उनले बताए ।
“दलित युवालाई चार किलोमिटर लखेटेर भेरी नदी किनारमा लगेर हत्या गरिएको छ” उनले भने, “प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न असहयोग गरेको जस्तो बुझिएको छ, जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन नगर्न दबाब दिइएको पाइएको छ ।”
सांसद पार्वतीकुमारी विशुन्खेले पश्चिम रुकुम घटनाले समग्र ६० लाख दलितको आत्म सम्मानमा चोट पुगेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन माग गरिन् । यस्तै रेणुका गुरुङले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताए । स्थानीय पार्टी, सरकार घटनाको सत्यतथ्य छानबिन गर्न जुटेको जानकारी दिए ।
घटनाको छानबिन गर्न कुनै राजनीतिक दबाब हुनै नसक्ने उनको भनाइ थियो । “रुकुममा जातीय विभेदका घटनाको राजनीतिकरण हुँदैन, छानबिन हुन्छ”, जनप्रतिनिधिका हैसियतमा उनले भने । काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरे ।
लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराए । सांसद रसाइलीले घटना बारे गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाए ।
समिति गठन
बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताएका छन् । जाजरकोट र रुकुमपश्चिम बीचका केही युवा बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उनले बताए । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ ।
आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ ।
आयोगले प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई आग्रह गरेको हो ।
जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीन जनाको स्थिति अज्ञात रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्यसहनशीलता कायम गरी सबै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानूनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
१२ जना पक्राउ
मन्त्री थापाका अनुसार, केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले युवतीका बुबा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुमपश्चिमबाट समन्वयात्मक ढंगले काम भइरहेको गृहमन्त्रीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies