काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि लामिछाने बुटवलमा रहेको जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।
लमिछानेविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठिगत अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जितसिंह राठौरले लामिछाने बुधबार आफैं अदालतमा उपस्थित हुने बताए । लामिछाने आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर बुधबार नै बहस सिध्याउने तयारीमा छन् ।
बुद्ध एयरको विमानमार्फत मंगलबार उनी अदालतमा उपस्थित हुन भैरहवा पुगेका हुन् । भैरहवास्थित होटल मेरिगोल्डमा मंगलबार साँझ लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता पनि गरेका छन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ र काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा गएकामा लामिछानेको नाममा ऋण गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
रुपन्देहीमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, जी. बी. राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
लामिछाने र जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।
पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ ।
यता, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रहरीले दोस्रो चरणको अनुसन्धान सक्दै थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।
सहकारीको रकम अपचलन दोस्रो चरणको अनुसन्धानमा प्रहरीले लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको हो ।
यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले सहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या अब ३१ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार २ चरणमा पक्राउ पुर्जी लिइएका १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको पछिल्लो प्रतिवेदन चितवन जिल्ला अदालतमा बुझाएको छ ।
प्रहरीले चितवन जिल्ला अदालतबाट ७ मंसिरमा पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । अनुसन्धानको क्रममा थप व्यक्ति खुलेपछि ४ जनाविरुद्ध पुनः पक्राउ पुर्जी लिएको थियो ।
यस कारण पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ ।