काठमाडौँ : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
मंगलबार हवाईमार्ग हुँदै भैरहवा पुगेका लामिछाने आज बिहान अदालतमा उपस्थित भएका हुन् ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रूपन्देही जिल्ला अदालतमा रवि विरुद्ध मुद्दा दर्ता भएको थियो ।
सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।
रविको आज बयान तथा थुनछेक बहस हुनेछ । यसका लागि उनी आफ्नो तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।
लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।