काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुस मसान्तसम्मा २७ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखालगायतका जिल्लामा गत आवमा सञ्चालित २४ वटा गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेम १३ वटा सम्पन्न भएको र पुरातात्विकस्थल संरक्षण आयोजनाअन्तर्गत निरन्तर कार्य भइरहेकामध्ये आव २०८०/०८१ मा २० वटा सम्पदाको संरक्षण कार्य गर्नुपर्नेमा हालसम्म ४० वटा सम्पन्न भएको सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।
त्यसैगरी मन्त्रालयले चालु आवको नीति तथा कार्यक्रम र बजेटअनुसार पर्यापर्यटन प्रवर्द्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका ‘इको हिल स्टेसन’ निर्माणको लागि अवधारणा पत्र तयार भइ स्थान छनोटको प्रक्रियालाई अगाडि बढाएको छ । सहसचिव लामिछानेका अनुसार मन्त्रालयले वायुसेवा कम्पनीको सुरक्षा मापदण्ड परिचालनसम्बन्धी अनुगमन सम्बन्धमा हालसम्म तीन वटा कम्पनीको अनुगमन गरिसकेको छ । चालु आवको ५० हजारमध्ये १० हजार पाना अभिलेखको सङ्कलन, सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन मन्त्रालयले गरेको छ ।
त्यसैगरी सिम्रौनगढ क्षेत्रमा रहेका सम्पदाको संरक्षण कार्यत्रलाई निरन्तरता दिने क्रममा मन्त्रालयले बोलपत्रको सूचना प्रकाशन गरी बोलपत्रको मूल्याङ्कन गरी कार्यादेश प्रदान गरेको छ । ‘चालु आवअन्तर्गत लुम्बिनी गुरुयोजनाको पूर्वी विहार क्षेत्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको छ र लुम्बिनी गुरुयोजनाको सांस्कृतिक केन्द्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य र गुरुयोजना क्षेत्रमा विद्युतीकरण गर्ने कार्य ८४ प्रतिशत सम्पन्न भएको छ’, सहसचिव लामिछानेले भने ।