२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

shivam cement
मध्यान्ह
२०८१ माघ ९ गते १५:५४
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह,व्रतबन्ध,पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताइन् । 

पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनले बताइन् । ‘पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।’   एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले जानकारी दिइन् । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाइ छ । पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताइन् ।

‘पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, उनले भने, ‘तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ ।’  समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध रहेका छन् ।

पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताइन् । ‘भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ’ उनले भनिन् । पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।

‘गाउँमा झगडा भएमा मिलाइदिनुपर्यो भन्दै खासगरी दिदीबहिनीहरु आउनुहुन्छ’, उनले भने, ‘त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।’ घरहरुमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको उनको भनाइ छ । -रासस 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise