काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश भएको छ ।
रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा लामिछानेलाई परिवारको जिम्मा लगाउन आदेश दिएको हो ।
भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी लामिछानेलाई परिवारको जिम्मा लगाइएको अदालत स्रोतले जानकारी दिएको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
लामिछानेसहित छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।
नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् ।
लामिछानेको न्यायाधीश पल्हादकुमार योगीको इजलासमा आज बयान मात्र सकिएको छ । थुनछेक बहस भोलिबाट सुरु हुने बताइएको छ ।