लिस्बन : स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मंगलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् । शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गरेका थिए ।
यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन् । यसअघि उनलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गरेका थिए । नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारीसमेत ग्रहण गरेका छन् । पछिल्लो समय माल्टालाई समेत स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ । माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूत नियुक्त भएको भएपनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियो । सरकारले उनलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले स्वदेशी तथा विदेशी संघसंस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।