२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

पर्यटकको आकर्षण बन्दै स्यार्पुताल, होमस्टेदेखि बोटिङसम्मको सुविधा

Nada
प्रचण्ड खत्री
२०८३ कार्तिक १८ गते १२:३५
Shares
पर्यटकको आकर्षण बन्दै स्यार्पुताल, होमस्टेदेखि बोटिङसम्मको सुविधा

रुकुम पश्चिम : रुकुम पश्चिमको सबैभन्दा ठुलो तथा चर्चित स्यार्पुताल पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सुन्दरता, बोटिङ सुविधा र स्थानीय आतिथ्यका कारण तालमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको हो ।

बाँफिकोट गाउँपालिका–३ र ५ मा फैलिएको स्यार्पुताल २.६ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ । समुद्री सतहबाट १ हजार ३ सय ७२ मिटर उचाइमा रहेको यो ताल मान्छे सुतेको आकृतिमा देखिन्छ । कर्णाली प्रदेशका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा समेत सूचीकृत स्यार्पुताल पछिल्लो समय घुमफिरका लागि लोकप्रिय बन्दै गएको छ ।

केही वर्षयता तालमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको स्थानीय डुंगा सञ्चालकहरू बताउँछन् । उनीहरूका अनुसार बिदाका दिन दैनिक करिब एक सय जनासम्म पर्यटक पुग्ने गरेका छन् भने सामान्य दिनमा २० देखि ३० जनाको आगमन हुने गरेको छ ।

विशेषगरी मनसुनको समयमा पानीले भरिएर स्यार्पुतालको सुन्दरता थप आकर्षक देखिन्छ । अगस्टदेखि अक्टोबरसम्म ताल पूर्ण रूपमा भरिने भएकाले यस अवधिमा पर्यटकको आकर्षण अझ बढ्ने गरेको छ । तालमा बोटिङ गर्ने, प्राकृतिक दृश्यमा रमाउने, तस्बिर खिच्ने तथा स्थानीय माछाका परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् ।

तालको संरक्षण र पूर्वाधार विकासले पनि यसको पर्यटकीय आकर्षण बढाउन सहयोग पुर्‍याएको छ । डिभिजन वन कार्यालयले ताल वरिपरि घेराबार गर्नुका साथै भ्यूटावर निर्माण गरेपछि पर्यटकलाई तालको दृश्यावलोकन गर्न थप सहज भएको छ ।

पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीयले पनि पर्यटनलाई आम्दानीको माध्यम बनाउन थालेका छन् । स्थानीयस्तरमा ११ घरमा होमस्टे सञ्चालनमा छन् । होमस्टेमार्फत पर्यटकले स्थानीय खानपान, संस्कृति र ग्रामीण जीवनशैलीको अनुभव लिन पाउँछन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर