
पर्सा : काठमाडौं सरकारले राष्ट्रिय कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि तथा बालभिटा वितरण अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।
पर्सा जिल्लामा यस अभियानअन्तर्गत ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्रले जानकारी दिए ।
जिल्लाका १४ स्थानीय तहमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा ३३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र ३० हजारलाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ ।
त्यसैगरी पोखरिया नगरपालिकामा भिटामिन ‘ए’ ५ हजार र जुकाको औषधि ४ हजार ४००, बहुदरमाई नगरपालिकामा क्रमशः ५ हजार ४०० र ४ हजार ५०० तथा सखुवाप्रसौनी गाउँपालिकामा दुवै औषधि ४ हजार बालबालिकालाई खुवाउने लक्ष्य छ ।
कालिकामाई गाउँपालिकामा २ हजार ८०० बालबालिकालाई भिटामिन ‘ए’ र २ हजार ४०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धिरजकुमार गुप्ताले बताए । उनका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ ।
अभियानको पहिलो दिन कालिकामाई गाउँपालिकामा जनस्वास्थ्य अधिकृत रानी पण्डितले विभिन्न स्थानमा पुगेर पोषण कार्यक्रमको अनुगमन गरेकी थिइन् ।
त्यस्तै छिपहरमाई गाउँपालिकामा भिटामिन ‘ए’ ३ हजार ६०० र जुकाको औषधि ४ हजार, जगरनाथपुरमा क्रमशः ४ हजार ४०० र ४ हजार, ठोरीमा २ हजार ६०० र १ हजार ८०० तथा जिराभवानीमा २ हजार ८०० र २ हजार ४०० बालबालिकालाई औषधि खुवाउने लक्ष्य छ ।
पटेर्वासुगौलीमा २ हजार ८०० र २ हजार ६००, पर्सागढी नगरपालिकामा २ हजार ६०० र २ हजार ६००, पकाहामैनपुरमा २ हजार ८०० र २ हजार ५००, धोबिनीमा ३ हजार ४०० र ३ हजार तथा बिन्दवासिनीमा २ हजार ८०० र २ हजार ५०० बालबालिकालाई क्रमशः भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ ।
पोषण कार्यक्रम प्रमुख मिश्रका अनुसार बालबालिकालाई विभिन्न रोगबाट जोगाउन तथा उनीहरूको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
यसअघि पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो । यस वर्ष दसंैको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गरिएको हो ।
सरकारले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ ।