२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

डढेलोको त्रास

hardik ivf
जानकी पाठक
२०८१ माघ १० गते ०६:३५
डढेलोको त्रास

काठमाडौं : काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकास्थित सामुदायिक वनमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार थामलेख (महाभारत) को सामुदायिक वनमा आगलागी भएको हो । यो आगलागीबाट ठूलै क्षति पुग्ने अनुमान गरिएको छ । 

बुधबार नै संसदीय समितिले देशभर आगलागीको सम्भावना भएका क्षेत्र र आगलागी भएपछिको सम्भावित पूर्वतयारीबारे चासो लिएको छ । 

बुधबार सिंहदरबारस्थित आफ्नै सभा कक्षमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना नै मागेको छ ।

सरकारलाई अबको १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना समितिमा पेस गर्न निर्देश गरेको छ । सरकारको पूर्वतयारी कार्यायोजना हेरेर सरकारलाई थप निर्देश गर्ने समितिको तयारी छ ।

बैठकमा सांसदहरूले वन डढेलोको जोखिम न्युनिकरण र नियन्त्रणका लािग स्थानीय तह र समुदायलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले सामुदायिक वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताए । 

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले डढेलोलाई दुर्घटनाको रुपमा लिन नहुने बताए ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले आगलागीका घट्ना न्युनीकरण गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई मजबुत बनाउन जरुरी रहेको बताए ।

अर्थात, सुक्खा मौसमको सुरुवात भएसँगै आगलागी र डढेलोको त्रास बढेको हो । यसबारे सरोकारवालाहरूले सरकारको ध्या(नाकर्षण गर्न थालेका छन् भने संसदीय समितिले पूर्वतयारीको कार्ययोजना मागेर सक्रियता खोजेको छ । 

सुक्खा मौसममा नेपालमा विभिन्न क्षेत्रका जंगलमा साना तथा ठूला प्रकृतिको डढेलोको घटना वर्षेनी हुने गरेको छ । वर्षेनीका घटनाले करोडौंको धनजन क्षति हुने गरेको छ । पर्यावरणलगायत जैविक विविधता, कार्बन उत्सर्जन, पुनरुत्पादित साना बिरुवा तथा वन्यजन्तुको बासस्थानलाई समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । डढेलोलाई वन क्षयीकरणको प्रमुख कारणका रूपमा लिएर सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् । 

एकातर्फ डढेलोको कारण साना बिरुवा जलेर सखाप बन्छन् भने अर्कोतर्फ ठूला रुख पनि पात तथा हाँगा जलेर क्रमशः मर्दै जान्छ । यसले दीर्घकालमा समेत असर गर्दछ । 

वन डढेलो रोक्न र यसबाट हुने असर न्यूनीकरण गर्न सरकारले प्रभावकारी योजना बनाउनुपर्नेमा सरोकारवालाहरूको जोड छ । 

ADVADV

सम्बन्धित खबर

Advertise