२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

झोलुंगे पुल निर्माणपछी साढे एक घण्टाको यात्रा पाँच मिनेटमै

Nada
२०८१ माघ ११ गते ११:५५
Shares
झोलुंगे पुल निर्माणपछी साढे एक घण्टाको यात्रा पाँच मिनेटमै

म्याग्दी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुंगे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।

ncell

एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । रू ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।

उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताए । ‘पहाडको टुप्पोबाट फेदीमा झेरर जङ्गल र भिरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो’, उनले भने, ‘पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न पाएका छौँ ।’

धवलागिरि गाउँपालिका, उपभोक्ता र झोलुंगे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले रू सात लाख ४९ हजार ९२ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले रू एक लाख १५ हजार दुई सय ४५ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालुले बताए ।

स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रू ४८ लाख ८८ हजार दुई सय ५१ बराबरको सहयोग भएको छ । यस वर्ष धवलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुंगे पुल निर्माण भएको छ । रू ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुंगे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।

खोलाखर्कको झोलुंगे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरे । सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुंगे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेको बताए । समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले बताए । (रासस)

सम्बन्धित खबर