दोहा, कतार : ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको हमाद अस्पतालमा शुक्रबार ६९ जनाले रक्तदान गरेसँगै रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । सञ्जालका अध्यक्ष खगेन्द्र शाही ठकुरीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो भने डेढ सयभन्दा बढी संख्यामा उपस्थिति रहेको थियो ।
रक्तदानजस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई भव्यरूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले हार्दिक आभार व्यक्त गरे । रक्तदान गरेका दाताहरू, मिडियाकर्मीहरूलाई धन्यवाद प्रकट गर्दै कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
मानवीय तथा परोपकारी कार्यमा सरिक भएर रक्तदान गर्ने सबैलाई सञ्जालले आभारसहित कृतज्ञता जाहेर गरेको छ । "रक्तदान गरौं, मानवीय तथा परोपकारी कार्यमा सहभागी हौं" भन्ने मूल नारालाई आत्मसात गर्दै बिहान ८ बजेबाट सुरु भएको रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चलेको थियो ।