दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल “शीतल” सम्मानित भएका छन् । तमु (गुरुङ) समाज कतारले आयोजना गरेको चेलीबेटी भोज (रिं च्हमी कैं पिंवा) कार्यक्रममार्फत दर्नाल सम्मानित भएका हुन् । समाजले आयोजना गरेका हरेक गतिविधिमा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्याएको भन्दै फेटा (क्रेगी) र सम्मान पत्रले दर्नाललाई सम्मानित गरिएको हो ।
सम्मान ग्रहणपछि मध्यान्हसँगको कुराकानीमा दर्नालले सम्मानले थप जिम्मेवारी बढेको र मिहिनेत गर्न ऊर्जा मिलेको प्रतिक्रिया दिए । उनले तमु समाजप्रति आभार व्यक्त गर्दै पत्रकारितामार्फत पनि समाजसँग जोडिरहने बताए । नेपालमा स्थानीय रेडियोमार्फत पत्रकारिताको सुभारम्भ गरेको बताउने दर्नालले कतारमा सन् २०१९ देखि पत्रकारिता सुरु गरेका थिए । अनलाइन पोर्टल सञ्चार डबलीबाट पत्रकारिता सुरु गरेका उनी सन् २०२२ देखि निरन्तररूपमा नेपाली जनता खबर अनलाइनमा काम गरिरहेका छन् ।
फरक फरक शैलीमा नेपाली गीत लेख्ने गरेका दर्नाल एक अब्बल सर्जक समेत हुन् । उनले लेखेका गीतहरु पनि नेपाली सांगीतिक आकाशमा चर्चामा रहेका छन् । दर्नालका बाँच्ने आधार, पागल मान्छे, आफै रुनु पर्ने, मसानघाट लगायतका गीतहरू चर्चामा छन् ।