२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

तमु समाज कतारद्वारा चेलीबेटी भेटघाट तथा सम्मान

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ १२ गते २१:५०
तमु समाज कतारद्वारा चेलीबेटी भेटघाट तथा सम्मान

दोहा कतार : तमु (गुरुङ)समाज कतारले आयोजना गरेको मॉङी– त्हें चेलीबेटी भेटघाट (रि च्हमि कैं चमिबा) तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । गुरुङ समुदायको ल्होसार पछिको दोस्रो ठूलो पर्वको रूपमा मनाइने माङीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रम नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यता तथा तमु समाजकी अध्यक्ष टौमाया गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको हो । दाजुभाइहरूले चेलीबेटीहरूसहित कार्यक्रमका सभापति, प्रमुख अतिथि, मानार्थ सदस्यहरू, खेलाडी लगायतका व्यक्तित्वहरूलाई फेटा र दोसल्ला ओढाएर स्वागतसहित सम्मान गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले बाह्र महापुरुष र सात कन्याहरूबाट जन्म भएको गुरुङ समुदायको परम्परागत संस्कार अनुसार विशेष महत्त्वका साथ माइती र चेलीको सम्बन्धलाई प्रगाढ राख्ने बताइन् ।

विभिन्न समयमा समाजले आयोजना गरेका विभिन्न कार्यक्रममा सांगितिक प्रस्तुति दिएका सबै कलाकारहरू, प्रायोजक, सहयोगी तथा पत्रकारलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

नेपाल प्रवासी तामाङ समाज, स्याङ्जा सहयोग समाज हरिनास गाउँपालिका इकाई र चेलीहरूले माइतीलाई कोसेली उपहार प्रदान गरेका थिए भने माइती पक्षले पनि कोसेलीद्वारा बिदाइ गरेका थिए । 

विगत १ दशकदेखि वार्षिकरूपमा यस किसिमको कार्यक्रमको आयोजना गर्ने गरिएको छ । समाज कतारका उपाध्यक्ष तेज तमुले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव डिजन गुरुङले सहजीकरण गरेका थिए । 

कार्यक्रमको समापन गर्दै सभापति गुरुङले तमु समुदायका हरेक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई संस्थागत कृतज्ञता ज्ञापन गरेकी थिइन् । उनले प्रवासमा पनि चेलीबेटी हरूलाई यसरी सम्मान गर्ने अभिभावक पाउँदा अत्यन्त खुसी लागेको बताइन् । उनले माङीको दिन मास र तरुलको टिका लगाइदिएर चेलीहरूलाई दक्षिणा दिने प्रचलन रहेको र यस्ले चेली माइतीको सम्बन्धलाई थप मजबुत बनाउने गरेको बताइन् । 

कार्यक्रममा कतारमा स्थापित थुप्रै संघ संस्थाका महिला प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो भने थुप्रै कलाकारहरूले आफ्ना सांगितिक प्रस्तुती समेत दिएका थिए । यस पर्वलाई थारु समुदायले माघी, मगर समुदायले माघे  सङ्क्रान्ति,हिन्दु धर्मावलम्बीहरूले मकर सङ्क्रान्ति, किराँती समुदायले नयाँ वर्ष यले तङ्बे र गुरुङ समुदायले माङी (सात आमाहरूको पूजा र सी माना दिने) पर्वको रूपमा धुमधामका साथ मनाउने गर्दछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise