२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

क्रियाशील सदस्यता कांग्रेसमा सदाबहार समस्या

hardik ivf
निमिष झा
२०८१ माघ १६ गते ०६:३५
क्रियाशील सदस्यता कांग्रेसमा सदाबहार समस्या

काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यता सदाबहार र दीर्घ रोगको रूपमा रहेको देखिन्छ । पार्टी भित्रको गुटबन्दी र आफ्ना कार्यकर्तालाई नेता बनाउन पार्टी भित्र क्रियाशील सदस्यता कहिल्यै नटुंगिने विषय बनेको हो ।

मतपरिणामको जोडघटाउमा समेत निर्णायक बन्ने भएकाले क्रियाशील सदस्यता वितरणमा कांग्रेसभित्र चर्को राजनीति र गुटबन्दी हुने गर्छ । 

क्रियाशील सदस्यता नेपाली कांग्रेसमा महाधिवेशनको प्रस्थानविन्दु हो । तर यो प्रस्थानविन्दु यति विवादित बनेको छ कि पार्टीको १२औं महाधिवेशनदेखि निरन्तर रहँदै आएको छ ।

कांग्रेसमा वडादेखि केन्द्रीय कार्यसमितिमा प्रवेश पाउन क्रियाशील सदस्य रहेकै हुनुपर्छ । नत्र महाधिवेशनमा उम्मेदवार बन्न र तहगत समितिमा बसेर काम गर्न पाइदैन ।

साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता लिने प्रावधान छ । तर कांग्रेसभित्रको गुटबन्दीका कारण सहजै क्रियाशील सदस्य बन्न गाहे छ ।

कांग्रेसमा हरेक महाधिवेशनको मुखमा क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुग्ने गरेको छ । महाधिवेशनको मिति जतिजति नजिकिन्छ, क्रियाशील सदस्यताको विवाद झनझन चर्किने गर्छ ।

यद्यपी केन्द्रीय कार्यसमितिले यस सम्बन्धि विवाद मिलाउन प्रयास गरे पनि कहिल्यै समाधान नहुने अवस्थामा पुग्ने गरेको छ ।

क्रियाशील सदस्यता वितरणको कारणले महाधिवेशनको मितिसमेत प्रभावित हुनु कांग्रेसमा नौलो होइन । योपटक पनि महाधिवेशनको मिति तय नहुँदै क्रियाशील सदस्यता विवाद चर्कोको छ । यसले आगामी मंसिरमा गर्ने भनिको १५ औं महाधिवेशन पनि प्रभावित हुने सम्भावना छ ।

कांग्रेसको संरचनाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म निर्वाचन लड्न क्रियाशील सदस्यता प्राप्त गरेको हुनुपर्छ । 

कांग्रेसकै नेताहरू भन्छन्, ‘क्रियाशील सदस्यता वितरण पार्टी भित्र कहिल्यै नटुंगिने विषय बनेको छ । यो कांग्रेसको दीर्घ रोगजस्तै छ ।’

सधैँको विवाद

असोज २०६७ मा भएको १२ औं महाधिवेशन अघि निस्केको क्रियाशील सदस्यता विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । त्यो महाधिवेशनले पुरानै क्रियाशील सदस्यबाट सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

यस्तै, फागुन २०७२ मा भएको १३ औं महाधिवेशनमा पनि क्रियाशील सदस्यताको विषय समाधान भएन । उक्त महाधिवेशनले शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमिति निर्वाचित गरेपनि क्रियाशीलको विवाद ज्यूँका त्यूँ रह्यो ।

मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यताको विवाद भने आंशिक समाधान भयो । त्यस महाधिवेशनले सभापतिमा पुनः देउवालाई निर्वाचित गरेको थियो ।

लगातार २ कार्यकाल सभापति भएका देउवाले पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद सुल्झाउन सकेका छैनन् । १२ औं महाधिवेशनदेखि चलिरहेको क्रियाशील सदस्यतासम्बन्धी विवाद अहिलेसम्म यथावतै छ ।

कांग्रेस विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्छ । मंसिर २०७८ मा १४ औं महाधिवेशन भएकोले अब मंसिर २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन हुनुपर्छ । तर अहिलेसम्म क्रियाशील नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विषय समाधन भएको छैन ।

साधारण सदस्यता लिएको एक वर्षपछि मात्र क्रियाशील सदस्यता हुन पाउने व्यवस्था कांग्रेसमा छ । २०७८ मा भएको १४औँ महाधिवेशनमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए ।

यो विषयलाई समाधान गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति पनि बनाइएको छ । 

१२ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म देखिएका क्रियाशील विवाद मिलाउन समितिले सदस्यहरूलाई प्रदेश–प्रदेश तोकेर जिम्मेवारी दिएको छ ।

मधेस र लुम्बिनी प्रदेशमा रसाइली, बागमती र गण्डकी गुरूङ तथा कोशी, कर्णाली र सुदूरपश्चिममा चौधरीले सदस्यतामा देखिएका विवाद समाधान गर्न सहजीकरण गरिरहेका छन् ।

महाधिवेशनको मिति घोषणा हुनु अघि नै क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण र थाती विवाद हल गर्ने गरी काम भइरहेको समिति सदस्य रसाइलीले बताए ।

‘महाधिवेशन मिति घोषणा गरेपछि रातारात क्रियाशील बाँड्दा झन् विवाद हुन्छ त्यसैले अहिले नै तीव्रता दिन खोजिएको हो,’ उनले भने । 

कांग्रेसले यस वर्ष भदौमा ७७ वटै जिल्ला कार्यसमितिलाई केन्द्रबाट परिपत्र गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरण तत्काल सुरु गर्न निर्देशन दिएको थियो । जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा आलटाल गरिरहेको गुनासो आएपछि कांग्रेस केन्द्रीय कार्यालयले सदस्यता नवीकरण र वितरणको काम सुरु गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।  

केन्द्रले पठाउने क्रियाशील सदस्यता फारम जिल्ला सभापतिले क्षेत्रीय सभापतिलाई नदिने, क्षेत्रले प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रले पालिका तथा वडालाई फारम नै नदिएर होल्ड गर्ने गरेको कार्यकर्ताको गुनासो छ ।

केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको विवरण रीतबमोजिम भरेर ३० चैतसम्म केन्द्रमा पठाइसक्न अर्को निर्देशन दिएको छ । 

हुुन्छ त समाधान ?

संस्थापन र संस्थापनइतर गुटमा नेता र कार्यकताहरू विभाजित भएका कारण यो विवाद सदावहार बनेको नेताहरूको गुनासो छ ।

क्रियाशील सदस्यको वितरण तल्लो तहले केन्द्रीय तहमा पठाउने काममा ढिलाइ भइरहेको छ । जसका कारण मंसिर २०८२ सालभित्र हुने भनिएको महाधिवेशन धकेलिन सक्छ ।

२०८२ सालभित्र महाधिवेशन गर्नका लागि यतिबेला प्रदेश अधिवेशन र सोभन्दा तल्लो तहको अधिवेशन सम्पन्न भइसक्नु पर्ने हो ।

महामन्त्री थापाले फागुन २०८० मा भएको महासमिति बैठकमा २०८२ सालभित्र १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महासमिति बैठकको प्रस्तावलाई केन्द्रीय समितिले स्वीकार गरेपनि अहिलेसम्म महाधिवेशनको मिति तोकेको छैन । 

विवाद किन पेचिलो ?

पार्टीभित्रको क्रियाशील सदस्यता विवाद नौलो विषय नभएको स्वयं नेताहरू बताउँछन् । यस अगाडि पनि क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुग्ने गरेको थियो । तर, यस पटक यो समस्या विभिन्न कारणले गर्दा थप जटिल बनेको छ । 

केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘क्रियाशील सदस्यले नेता निर्वाचित गर्नुपर्ने हो तर आफू निर्वाचित हुन क्रियाशील सदस्य वितरणलाई हतियार बनाउने परम्पराको विकास भयो, पार्टीमा यो विवाद स्थायीजस्तै बन्यो ।’

उनले असारदेखि निर्वाचन प्रक्रिया सुरु गरिहाल्नु पर्ने बताउँछन् । ‘सबै कार्यतालिका वैशाख–जेठमा सम्पन्न नगरी सुख छैन । अब महाधिवेशन सार्ने सुविधा हामीसँग छैन,’उनले भने ।

अहिले नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद तीन थरीको छ । पहिलो, गत वर्ष पार्टीको विधान संशोधन गरेर एक वर्ष साधारण सदस्य भएको व्यक्तिलाई ‘अन्यथा’ नभएको खण्डमा आवेदन दिएमा स्वतः क्रियाशील सदस्यता दिने व्यवस्था छ ।

दोस्रो, अघिल्लो महाधिवेशनमा थपिएका क्रियाशील सदस्य त्यो महाधिवेशनमा नभएर अर्को महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ ।

तेस्रो, अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यताता दिनुपर्छ ।

यसरी हेर्दा कांग्रेसमा झाँगिएको विवाद समाधानको लागि अझै केही समय लाग्ने पक्का छ । चैत मसान्तसम्मका लागि तोकिएको सदस्यता नवीकरण र क्रियाशील सदस्य वितरणको अवधि पनि कम हुनेछ । यसले पार्टीको आसन्न महाधिवेशनलाई समेत प्रभावित गर्ने सम्भावना देखिन्छ ।

कांग्रेसका पुराना नेता होमनाथ दाहालका अनुसार आफूलाई मत दिने, अन्य पार्टीका कार्यकर्ता तान्ने र उनीहरूलाई साधारण सदस्यता दिने चलन पार्टी भित्र सुरु हुँदा पछि गएर विवाद देखिन थालिएको हो ।

‘क्रियाशील सदस्यताको प्रावधानले पार्टीमा एउटा तह सिर्जना त गरेको छ तर, आफू नेतृत्वमा जानका लागि क्रियाशील सदस्यको प्रावधानलाई आफ्नो अनुकूलतामा ढाल्ने प्रयास पनि सुरु भयो’ दाहाल भन्छन् ।

दाहालले वास्तविक कार्यकर्तालाई भन्दा पनि आफ्ना अनुयायीहरूलाई ल्याएर नेतृत्वमा जाने प्रवृत्ति कांग्रेसको रोगै भएको टिप्प्णी गरे ।

ADVenergy

सम्बन्धित खबर

Advertise