२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

मातृभाषाको अवस्था चिन्ताजनक : अध्यक्ष डा. ठाकुर

hardik ivf
मध्यान्ह
२०८१ माघ १७ गते २०:३९
मातृभाषाको अवस्था चिन्ताजनक : अध्यक्ष डा. ठाकुर

ललितपुर : भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले १२४ वटाभन्दा बढी मातृभाषाको अवस्था चिन्ताजनक रहेको  बताएका छन् । ती भाषालाई बचाउन उत्पादन र प्रयोगमा अनिवार्यता रहेको उनले बताए । 

नेपाल साहित्यिक पत्रकार संघ केन्द्रीय समितिले मातृभाषा साहित्यिक पत्रकारिता शतवार्षिकीको अवसर पारेर ललितपुरस्थित कोपुण्डोलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि डा. ठाकुरले आफ्नो घर र परिवारमा नबोलिने र नपढिने भाषा क्रमशः लोप हुँदै जाने सम्भावना रहेको बताए ।

उनले नेपालको मौलिक भाषा र लिपि बचाउँदै मातृभाषाको उत्थान,उत्पादन र प्रयोगमा जोड दिन संघीय, प्रादेशिक र स्थानीय तीनवटै तहका सरकारले भाषा प्रशिक्षण,पाठ्यपुस्तक निर्माण र छापा वा विद्युतीय भाषिक–साहित्यिक पत्रपत्रिका प्रकाशनका लागि अहमभूमिका निर्वाह गर्नुपर्ने बताए ।

अध्यक्ष ठाकुरले नयाँ पुस्तामा अंग्रेजी भाषाप्रति बढ्दो अभिरूची, अंग्रेजी माध्यममै पठनपाठन हुन थालेपछि नेपाली भाषा समेत  बिस्तारै खस्किन थालेको बताए ।

कार्यक्रममा संघका केन्द्रीय सचिवालय सदस्य तथा नलिः नेपालभाषा  साहित्यिक मासिकका सम्पादक नरेशवीर शाक्यले  ‘मातृभाषा साहित्यिक पत्रिका(नेपालभाषा) या अवसर व हाथ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालभाषाको साहित्यिक पत्रकारिताको इतिहास, योगदान र प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मातृभाषा पत्रकारिताको थालनी धर्मादित्य धर्माचार्यको सम्पादनमा १९८२सालमा प्रकाशित नेपाल भाषाको साहित्यिक पत्रिका ‘बुद्वधर्म’ बाट प्रारम्भ भएको तथ्य उजागर गरेका थिए । 

कार्यक्रममा विशेष अतिथि प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार शुभेच्छाविन्दु तुलाधरले उक्त कार्यपत्रमाथि आफ्नो धारणा राख्दै नेपालभाषाको भाषिक  साहित्यिक पत्रकारिताको इतिहास र योगदानलाई प्रष्ट पारेको बताइन् । 

मातृभाषाको भाषिक पत्रकारितामा नेपाल भाषाको गौरवमय इतिहास रहेको उल्लेख गर्दै भाषिक पत्रकारितालाई भाषा आयोगले औजारको रूपमा लिनुपर्ने उनले जोड दिइन् ।

तुलाधरले अहिले अंग्रेजी भाषाको प्रभावले गर्दा मातृभाषामा जस्तै नेपालीभाषामा समेत संकट उत्पन्न हुन सक्ने संकेत गरिन् । प्रेस काउन्सिलमा रहँदा आफूले गरेको भाषिक रिसर्चको स्मरण गर्दै  उनले भाषा आयोग आशा र भरोसाको केन्द्र बन्नुपर्नेमा जोड दिइन् । उनले नेपाल साहित्यिक पत्रकार संघले सरकारलाई सुझाव दिन सक्ने गरी भाषिक सम्मेलन गर्नुपर्ने औचित्यमाथि प्रकाश पारिन् ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष मोहन दुवालले मातृभाषाको उन्नायन र विकासका लागि आआफ्नो घरपरिवारबाटै  प्रयोग गर्न र सिकाउन लाज मान्नु नहुने कुरामा जोड दिए । 

अध्यक्ष दुवालले नरेशवीर शाक्यद्वारा लिखित ’मातृभाषा साहित्यिक पत्रिका(नेपालभाषा) या अवसर व हाथ्य’ विषयक कार्यपत्रले नेपालभाषा साहित्यिक पत्रकारिताको इतिहासलाई छर्लङ्ग पारेको बताउँदै नेपालको साहित्यिक  र भाषिक पत्रकारितालाई अघि बढाउन संघ प्रतिबद्ध रहेको उल्लेख गरे । संघले नेपालकै साहित्यिक पत्रकारिताको इतिहासलेखन कार्य गर्न लागेको स्पष्ट पार्दै साहित्यिक पत्रकारिता क्षेत्रका समस्या निरूपणका लागि निरन्तर लागि परेको बताए ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार नरेन्द्रबहादुर श्रेष्ठले उक्त कार्यपत्रमाथि चर्चा गर्दै नेपाल साहित्यिक पत्रकार संघ स्थापना भए यता साहित्यिक पत्रपत्रिकाले झेल्दै आएका समस्यालाई समाधान गराउन  योगदान पुर्‍याएकोमा  खुसी व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग पुर्‍याउने बताए ।

कार्यक्रमको उद्घोषण संघका केन्द्रीय महासचिव तथा प्राज्ञ चेतनाथ धमलाले गरेका थिए भने केन्द्रीय कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले स्वागत मन्तव्य राखेका थिए । यस्तै केन्द्रीय सदस्य पुण्यप्रसाद  घिमिरेले  धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी संघका केन्द्रीय सदस्य नानीमैयाँ अधिकारी र गजलकार जुमन किरणले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई खादा लगायरस्वागत गरेका थिए भने कार्यक्रमको उपस्थिति गराउन सहजीकरण कवि राजाराम राउतले गरेका थिए । 

ADVenergy

सम्बन्धित खबर

Advertise