२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

विद्यालयमै शिक्षक निदाउने गरेको आरोपः विद्यार्थी र अभिभावक आक्रोशित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १७ गते २१:५९
Shares
विद्यालयमै शिक्षक निदाउने गरेको आरोपः विद्यार्थी र अभिभावक आक्रोशित

रौतहट : रौतहटको यमुनामाई माध्यमिक विद्यालयका शिक्षक मदन साहको लापरवाहीप्रति विद्यार्थी तथा अभिभावकहरू आक्रोशित भएका छन् ।  

ncell

कक्षा कोठामा पठनपाठन गराउनुको सट्टा शिक्षक आफैं निदाउने गरेको गुनासो स्थानीयहरूले गरेका छन् । विद्यालयका अध्ययनरत विद्यार्थीहरूका अनुसार शिक्षक साह नियमित रूपमा कक्षामा निदाउने गर्छन्, जसले गर्दा पढाइ प्रभावित भइरहेको छ । अभिभावकहरूका अनुसार यस विषयमा विद्यालय प्रशासनलाई पटक–पटक जानकारी गराइए पनि हालसम्म कुनै ठोस कारबाही हुन सकेको छैन । 

एक विद्यार्थीले भने,‘हामी राम्रोसँग पढ्न चाहन्छौं, तर शिक्षक कक्षामा आएर निदाउनुहुन्छ । यस्तो अवस्थामा हाम्रो शिक्षा कसरी राम्रो हुन्छ ?’ अन्य विद्यार्थीहरूले पनि यही समस्या दोहोरिरहेको बताउँदै विद्यालय प्रशासनसँग समाधानको माग गरेका छन् ।

स्थानीय अभिभावकहरूले यो घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायलाई तत्काल छानबिन गरी उचित कारबाही गर्न माग गरेका छन् । 

एक अभिभावकले भने, ‘हामी आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिलाउन विद्यालय पठाउँछौं, तर शिक्षक स्वयं गैरजिम्मेवार भइदिँदा विद्यार्थीहरूको भविष्य अन्धकारमा पर्ने खतरा रहेको देखिन्छ ।’

प्रशासनले घटनाबारे जानकारी रहेको बताउँदै आवश्यक छानबिन भइरहेको र उचित कदम उठाइने आश्वासन दिएका हुन् । विद्यालयका एक प्रतिनिधिले भने, ‘हामी यस विषयमा आवश्यक कारबाही गर्छौं र पठनपाठनमा कुनै बाधा आउन दिँदैनौं ।’

स्थानीय समुदायले अब प्रशासनको निर्णय कुर्नुपर्ने भएपनि शिक्षक साहको लापरबाहीप्रति व्यापक असन्तोष व्यक्त भइरहेका छन् । सम्बन्धित निकायले चाँडो उचित कदम नचाल्ने हो भने अभिभावकहरू आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।

सम्बन्धित खबर