–श्याम मदन के.सी.
टोखा प्राचीनकादेखि बस्दै आएको बस्ती हो । यस बस्तीबारे थनेलाछी टोलको नारायण मन्दिरको नजिक रहेको संवत् ५१९ अंकित शिवदेव र अंशुवर्माले राखेको संयुक्त अभिलेखले पुष्टि गरेको छ । ऐतिहासिक सांस्कृतिक नगरी टोखाको जीवन्त मौलिक परम्परागत व्यावसायिक सिप, सम्पदा र संस्कृतिको रूपमा रहेको उत्कृष्ट परिकार चाकु हो । परम्परागत नेवाः संस्कृति, संस्कारसँग अति निकट रहेको विभिन्न खाद्य परिकारहरू मध्ये चाकुको विशेषता विशेष खालको छ । देशका विभिन्न भू–भागमा छरिएर रहेका नेवार समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य रूपमा चाकुको प्रयोग गर्ने गरेको देखिन्छ । चाकुसित सम्बन्धित संस्कृति, परम्परा, प्रथा, चलन र चाडपर्व हुनुले चाकुको इतिहास प्राचीनकादेखि भएको मान्न सकिन्छ ।
नेपालीहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति, जसलाई नेपाल भाषामा ‘ध्यूःचाकु सल्ह’ु सबैले मनाउने गरेका छन् । त्यस दिन नेपालका हरेक घरपरिवारमा चाकुको उपयोग गर्दछन् । चाकुलाई प्रायः जाडोको चाडपर्वका समयमा खाने चलन छ । जाडो समयमा चाकु खानाले शरीरमा न्यानो र शक्ति बढाउने जनविश्वास रहेको देखिन्छ ।
चाकु संस्कृतिले नेपाली समाजमा सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा गहिरो प्रभाव पारेको पाइन्छ । यो चाकु बनाउने संस्कृतिको विकास गर्ने प्रविधि नेपालको आफ्नै रहेको छ । यद्यपि, चाकु परिकारको तथ्यपरक लिखित इतिहास पाउन सकिएको छैन । इतिहासकारहरूले दिएको जानकारीअनुसार बहुचर्चित खाद्य वस्तुको रूपमा रहेको चाकुको उत्पादनको प्रमुख केन्द्र टोखालाई मानेका छन् । टोखामा प्राप्त भएको लिच्छवि कालिन अभिलेखमा तिलमक उल्लेख गरिएको पाइन्छ । तिलमकको अर्थ धनबज्र बज्राचार्यले कुलो भएको निष्कर्ष निकाल्नु भएको छ । कुलो निर्माणको प्रक्रिया किराँतकालीन समयमा भएको मानिन्छ । यसबाट त्यस बेला व्यावसायिक कृषि र उखु खेतीको लागि कुलोको व्यवस्था गरेको देखिन्छ ।
टोखामा किराँती राजा यलम्बरलाई स्थानीय भाषामा प्राचीन हाथु द्योःको रूप मानेर पूजा गर्दै आएको कथा पाइन्छ । यसले टोखामा बस्तीको विकास किराँत कालमा भएको मान्न सकिने आधार दिएको छ । टोखामा चाकुको आविष्कार त्यसै बेलादेखि हुँदै आएको अनुमान गर्न सकिन्छ । टोखामा प्राप्त भएका तत्कालीन ऐतिहासिक स्रोतहरूमा टोखा ग्राम, दोखादेश, जयपुरी नगर र लक्ष्मीपुर सम्बोधन गरेको देखिन्छ । यसरी विविध नामकरण गरे तापनि प्राप्त अभिलेखमा टोखा नामकरण गरिएको छ ।
टोखा नामकरणको ऐतिहासिक तथ्य खोज्दा नेपाल भाषाको ‘टुख्य’ शब्दबाट बनेको देखिन्छ । ‘टुख्य’ भनेको उखु उत्पादन हुने विशाल फाँटलाई बुझाउँछ । सो भाषामा उखुलाई ‘टु’ र फाँटलाई ‘ख्य’ भन्ने गरिएको पाइन्छ । यस कथनअनुसार अघि धेरै उखु उत्पादन हुन्थ्यो सोही ‘टुख्य’ शब्द अपभ्रंश भई कालान्तरमा टोखा हुन गएको बताइन्छ । यसबाट लिच्छवि कालमा व्यावसायिक रूपमा उखु खेती हुने गरेको तथ्यलाई उजागर गरेको छ । यसै उखुलाई पेलेर रस बनाइ चाकु बनाउने गरिन्छ । चाकु संस्कृति टोखामा बसोबास गर्ने समुदायको धर्म, संस्कृति, विश्वास, इतिहास र पहिचानसँग जोडिएको देखिन्छ । कतिपय विद्धानहरूले ‘चाकु’ शब्द एक जापानी शब्दको रूपमा परिभाषित गरेका छन् । यसलाई खाजा खानाको वर्णन गर्ने क्रममा प्रयोग गरिएको देखिन्छ । जसलाई अंग्रेजीमा स्न्याकको रूपमा अनुवाद गरिएको छ ।
चाकु बनाउनको लागि आवश्यक पर्ने कच्चा पदार्थको रूपमा रहेको उखुको खेती टोखालगायतका क्षेत्रमा गर्ने गरिएको बताइन्छ । विशेषगरी टोखाको तरचा, न्हयुरे, तेंख्याः, फुसिंतः, फैद्धं, लाम्ने, साइद्धं र इमाद्धं, बुढानिलकष्ठ नजिकको टुसाल, मनमैजु, र फुटुङ्गमा निगाले उखुको खेती हुने गरेको ऐतिहासिक पुस्तकहरूबाट पाउन सकिन्छ । यसरी प्राप्त भएको कच्चा पदार्थलाई चाकु बनाउने उद्योगमा दिने गरेको पाइन्छ ।
चाकु बनाउनलाई ११ जना कामदारको आवश्यकता पर्दछ । चाकु बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरू विशेषगरी छालाको डोरी, उखु च्याप्ने साधन, उखु पेल्ने लामो काठ मुख्य सामग्रीका रूपमा रहेका छन् । यहाँ चाकु बनाउन सुरु गर्दा र समापन गर्दा भोज खुवाउने चलन छ । यस्ता भोजहरूमा उखु खाल्डोमा राख्ने बेलामा खुवाउने भोज (तुसा पूजा), नाइकेले कामदारहरूलाई खुवाउने भोज (नाय पूजा ) गर्ने परम्परा रहेको देखिन्छ । चाकु निर्माणका क्रममा जाँदा सगुन लिने चलन गरिन्छ । त्यस्तो समयमा कतिपयले हाँसको बलि दिने गरिन्छ । त्यसपछि समय्बजी, माछा, मासु, भटमास राखेर भोज खुवाइन्छ । चाकुको उपयोग उपत्यकामा मनाउने विभिन्न चाडपर्वमा चाकु र पानीको मिश्रण बनाई सर्बत बनाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘चाकु ति’ र ‘साख ति’ भन्ने गरेको पाइन्छ ।
यस्तो सर्बतको प्रयोग वागद्धारमेला, सपना तीर्थ मेला, टोखा बिस्काः नखः जात्रा सर्वसाधारणलाई सर्बत बाँड्ने गरिन्छ । यसको लगायत मेलापातमा जाँदा चाकुको रसको पानी खुवाउने प्रचलन यद्यपि कायम रहेको छ । यसरी विभिन्न चाडपर्व, जात्राहरूमा चाकुको सर्बत खुवाउनका लागि छुट्टै गुठीको व्यवस्था गरिएको पाइन्छ । उनीहरूलाई यस गुठीलाई ‘चाकु ति गुठि’ भनिन्छ । चाकुको सामाजिक तथा सांस्कृतिक महत्व समेत रहेको देखिन्छ । चाकु सुत्केरी महिलामा खुवाउँदा शिशुलाई यथेष्ट पुग्ने गरी दूघ बढ्ने विश्वास गरिन्छ । टोखा समुदायका मानिसहरूले जन्मदेखि मृत्युसम्मको संस्कारहरू गर्दा चाकुको अनिवार्यता रहेको देखिन्छ । चाकुको महत्व बुझी हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ‘टोखा या चाकु मचा बुल हाकु.....’ भन्ने गीत बनाएका छन् । यसले चाकुको प्रख्यातिलाई दर्साउँछ ।
नेवार समुदायमा प्रमुख चाड यःमरी पुन्हिको प्रमुख परिकार बनाउँदा चामलको पिठोका गुम्बज आकारमा रोटी बनाउने गरिन्छ । यस रोटीभित्र चाकु राखेर बनाउने गरिन्छ । यसैगरी माघे संक्रान्तिको दिनमा ध्यूः चाकु सल्हु मनाइन्छ । यस संक्रान्तिमा टोखाका आइमाईहरूले लोग्नेका कमाई नखाई माइत गएर चाकु खाने परम्परा हालसम्म कायम छ । यस संक्रान्तिलाई छोरी चेलीको पर्वको रूपमा लिने गरेको पाइन्छ । चाकु परिकारलाई प्राथमिकतामा राखेर मनाउने भएकोले ध्यूः चाकु सल्हु भनिएको हो । घरमा मृत शोक हुँदा १२ दिनसम्म नुनदेखि अन्य खानपिन बार्ने चलन छ । सो अवधिमा प्रमुख परिकारको रूपमा चाकुलाई प्रयोग गर्ने गरेको पाइन्छ । चाकुलाई टोखामा महादेव, सरस्वती, नारायण, भीमसेन, गणेशको पूजामा चाकुलाई अनिवार्य रहेको देखिन्छ ।
टोखाका मानिसहरू धार्मिक तीर्थ यात्रामा गोसाईंकुण्ड अर्थात् सिलुयात्रा जाँदा चाकु लिएर जाने गरेको पाइन्छ । टोखामा मान्छे मर्दा, बच्चा जन्मँदा हुँदा चाकु लिएर छोरीको घरमा जाने प्रचलन छ । त्यसैगरि विवाहका लागि बेहुला पक्षले बेहुलीको घरमा लाखामरि लैजाँदा चाकुलाई सामेल गर्ने गरिन्छ । जाडोमा बच्चाहरूलाई जाडोबाट बचाउनका लागि र स्वास्थ्यकर बनाउन चाकु खुवाउँछन् । उखु पेलेर सुकाएको खोस्टा सुत्केरी र बच्चालाई सेक्दै मनतातो तेल लगाउँदा सुन्निएको, दुखेको सबै निको हुने विश्वास छ । सत्यनारायण पूजा गर्दा अपुङ्ग र पञ्चामृत बनाउँदा चाकु वा सखर राखेर बनाउने गरिन्छ । देवाली पूजा गर्दा समेत चाकुको अनिवार्यता रहेको देखिन्छ । गोसाईंकुण्ड मेला भर्न जाने बेलामा चाकु लिएर जाने चलन छ ।
गोसाईंकुण्ड जाँदा लेक लागेमा वा जाडो भएको खण्डमा चाकु खादा जाडो हुँदैन भन्ने मान्यता छ । चाकु एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण भई आएको सांस्कृतिक सम्पदाको रूपमा रहेको छ । निरन्तर रूपमा समुदाय र समूहद्वारा पुनर्निर्मित हुन्छ । यसले उनीहरूको पहिचान र निरन्तरताको बोध गराएको छ । चाकु सांस्कृतिक सम्पदाले मानव सृजनाशीलताका लागी सम्मान प्रवद्र्धन गर्ने भएकोले जर्गेना गर्नु पर्ने देखिन्छ । यसलाई स्थानीय निकाय, नेपाल सरकार, पुरातत्त्व विभागलगायत यूनेस्कोले समेत गम्भीर भएर सोच्नुपर्ने आवश्यकता देखिन्छ । चाकु संस्कृति प्राचिनकालमा गरेको अथक परिश्रम योगदान र पुर्खाहरूको विरासतबाट विकसित भएको मौलिक उत्पादन हो ।
चाकुको उपयोगिता बुझी जङ्गबहादुर राणाले बेलायतकी महारानीलाई टोखाको चाकु सौगातको रूपमा पठाएका थिए । प्रत्येक वर्ष फागुन पूर्णिमा होली पुन्हिका दिन कोथु गणेशको पूजा गरी प्रत्येक गुठीका दुई–दुई जनाले प्रसाद तथा भोज ग्रहण गर्ने चलन थियो । यस्तो चलन आर्थिक अभावका कारणले २०५० सालमा गुठी मासिएको देखिन्छ । नेपालका हरेक समुदायमा सामाजिक सांस्कृतिक र धार्मिक महत्व राख्ने चाकु जेठो सांस्कृतिक सम्पदाको रूपमा रहेको चाकु लोप हुने स्थितिमा पुगेको देखिन्छ । त्यसैले त्यसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।