२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

कांग्रेस महाधिवेशन : ०८४ अघि कि पछि ?

hardik ivf
निमिष झा
२०८१ माघ २० गते ०६:५०
कांग्रेस महाधिवेशन : ०८४ अघि कि पछि ?

काठमाडौं : नेपाली कांग्रेसले विधानअनुसार २०८२ मंसिरमा १५औं महाधिवेशन गर्नुपर्छ । महाधिवेशनका लागि करिब १० महिना बाँकी छ । तर आगामी वर्ष मंसिरमा महाधिवेशन हुने वा नहुने अझै निश्चित छैन । 

महाधिवेशन कहिले गर्ने विषयमा नेताहरू विभाजित छन् । कोही २०८४ मंसिरमा हुने आम निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने बताउँछन् भने कोही निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिन्छन् । पार्टी भित्र महाधिवेशन कहिले भन्ने बहस चलिरहँदा नेताहरूले त्यसको तयारी सुरु गरिसकेका छन् ।

कांग्रेसका अधिकाशं नेताहरू नेतृत्व लिनका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लागि सकेका छन् । पार्टीभित्र नेतृत्वका लागि हाल प्रष्टरूपमा २ गुट देखिएका छन् । संस्थापन पक्षको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् भने अर्को गुटको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । तर, गुटभित्र अन्य गुटका हाँगाबिगा पनि निस्कन थालेका छन् । 

कांग्रेसको विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । १४ मंसिर २०७८ मा १४ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले विधानलाई आधार बनाएर १ वर्ष समय थप्न सक्छ । त्यसो भयो भने पनि मंसिर २०८३ मंसिरमा महाधिवेशन गर्नै पर्ने हुन्छ ।

कांग्रेस महामन्त्री गगन थापाले गत वर्ष ७–१० फागुनमा गोदावरीमा भएको महासमिति बैठकमा मंसिर २०८२ भित्रै १५ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय समिति बैठकले पारित गरिसकेको छ । 

छैन कार्यतालिका

कांग्रेसले १५औं महाधिवेशन मंसिर २०८२ सालभित्रै गर्ने निर्णय गरेपनि कार्यतालिका बनाएको छैन । त्यसैले गैरसंस्थापन पक्ष समयमै महाधिवेशन हुनेमा आशंका व्यक्त गर्छन् । विराटनगरमा १८ मंसिरमा भएको एक कार्यक्रममा नेता कोइरालाले भनेका थिए, ‘१५औं महाधिवेशन समयमा हुने छाँटकाँट देखिरहेको छैन । हामीले यसको लागि दबाब दिनुपर्ने छ ।’

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुनुपर्ने कोइरालाको भनाइ छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा केही नेताहरूले २०८४ निर्वाचन पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । पूर्वमहामन्त्री डा.शशांक कोइराला र डा. नारायण खड्कालगायतले आम निर्वाचन पछि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । 

तर शनिबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले महाधिवेशन २०८४को निर्वाचन अघि गर्नुपर्ने बताए । ‘संविधानमै कुनै पनि पार्टीको एउटा महाअधिवेशन र अर्को महाअधिवेशनको समय ५ वर्षको व्यवस्था गरिएको छ,’ थापाले भने, ‘त्यसैले २०८४ को स्थानीय र आम निर्वाचनभन्दा अगाडि पार्टीको १५ औं महाअधिवेशन गनुपर्छ ।’ थापाले भने, ‘महाअधिवेशनबाट आएको नयाँ नेतृत्वले नै निर्वाचनमा पार्टीको नेतृत्व गर्छ ।’

कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले मंसिर २०८२ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, महाअधिवेशन लम्ब्निेसक्ने भन्दै केही नेताहरू शशंकित छन् । ती नेताहरू २०८३ मा महाधिवेशन प्रक्रिया सकाएर २०८४ मा निर्वाचनमा जानुपर्ने बताउँछन् । 

महाधिवेशनको मिति निश्चित नभएपनि पार्टीभित्र विरासत बोकेका ३ शीर्ष नेताहरू पनि सक्रिय छन् । जब–जब पार्टीको महाधिवेशन आउँछ, उनीहरूको सक्रियता बढ्छ । 

पूर्वउपसभापति विमलेन्द्र निधि र पार्टीका पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहले नेतृत्वकै लागि एक चरण छलफल गरिसकेका हुन् । शशांक बीपी कोइराला, विमलेन्द्र महेन्द्रनारायण निधि र प्रकाशमान गणेशमानका सिंहका छोरा हुन् । 

देउवाको राणनीति

विधानअनुसार २ पटक सभापति भएका देउवा अब तेस्रो पटक सभापति पदमा उम्मेदवार हुन पाउँदैनन् । सभापति देउवाले उमेरले पनि अब आफू अवकाशमा जाने बताइसकेका छन् । तर निर्वाचनको बहाना देखाएर देउवाले थप १ वर्ष कार्यकाल लम्ब्याउन चाहन्छन् । संविधान र पार्टीको विधान दुवैले यसका लागि छुट दिएको छ ।

कांग्रेसको विधानको धारा ४३ ले पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि ४ वर्षको हुने र असाधारण परिस्थिति भए केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा १ वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसरी थपिएको समयमा समेत महाधिवेशन नभए संविधानले थप ६ महिना म्याद थपेर महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसले संविधानको यही व्यवस्थालाई टेकेर १३ औं महाधिवेशन भएको साढे ५ वर्षपछि मंसिर २०७८मा १४ औं महाधिवेशन गरेको थियो । 

कांग्रेस स्रोतका अनुसार १५ औं महाधिवेशनको प्रक्रिया पार्टी सभापति देउवा प्रधानमन्त्री भएपछि मात्रै सुरु गर्ने तयारी आन्तरिक रूपमा गरिएको छ । सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने निकट नेताहरूलाई बताएका छन् ।

वर्तमान गठबन्धन सरकार निर्माणका बेला कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा असार २०८३ सम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहने र त्यसपछि आम निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । यही सहमति देखाएर वर्तमान केन्द्रीय समितिमा ८० प्रतिशत बढी बहुमत रहेका देउवाले असार २०८३ पछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने इच्छा प्रकट गरेका छन् ।

देउवाले पार्टी नेतृत्वमा आफ्नो अन्तिम कार्यकाल भएकाले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने चाहना राखेको उनी निकट एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीका अनुसार कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रधानमन्त्री हुने समय निश्चित भइसकेकाले प्रधानमन्त्री भएपछि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको देउवाले आफू निकटका नेताहरूलाई बताएका छन् । देउवामा आफू प्रधानमन्त्री नहुँदै पार्टी महाधिवेशन गरेमा संसदीय दलको नेताबाट कतै हट्नु पर्ने हो कि भन्ने त्रास छ । 

यसकारण देउवाले विधानले दिएको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बहुमतले वर्तमान कार्यसमितिको म्याद १ वर्ष थप्ने तयारीमा छन् । १ वर्ष समय थपिएको बेलामा कांग्रेस र एमाले सहमतिमा दरार नआए देउवा प्रधानमन्त्री बनिसक्छन् । त्यसपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने देउवाको चाहना छ ।

एक पूर्वपदाधिकारी भन्छन्, ‘सभापतिजीलाई २०८४को आम निर्वाचनमा आफैं टिकट वितरण गर्ने चाहना छ । महामन्त्रीजीहरूलाई पनि १÷२ वर्ष पर धकल्दा दोस्रो पुस्तालाई पनि एकै पटक बिदा गरेर आफूमा नेतृत्व ल्याउन सकिन्छ की भन्ने सोच देखिन्छ । अब विधान संशोधन गरेर २०८२ मा महाधिवेशन हुँदैन ।’

पोखरामा आज भेला

पार्टी रणनीति, आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम तथा पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिको भेला आइतबार हुँदैछ । सोमबासम्म चल्ने भेलामा पार्टी सुदृढीकरण र रणनीतिबारे छलफल हुनेछ ।

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने भेलामा ७७ वटै जिल्लाका सभापति, प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिहरू सहभागी हुनेछन् ।

भेलामा पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण, सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी निर्वाचनसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । 

ADVenergy

सम्बन्धित खबर

Advertise