२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

कतारमा अवैध नेपालीलाई अवसर : जरिमाना र जेल सजायबिना घर फर्कन पाउने

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ २८ गते ०६:३०
कतारमा अवैध नेपालीलाई अवसर : जरिमाना र जेल सजायबिना घर फर्कन पाउने

दोहा (कतार) : कतारमा गैरकानुनी रूपमा काम गर्ने कामदारलाई त्यहाँको सरकारले आममाफी दिएको छ । कतारी सरकारले यस अवसरको सदुपयोग गर्दै सहजै आफ्नै कानुनी अवस्था सुधार गर्न या स्वदेश फर्कन सुविधा दिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिएर कानुनी अवस्था सुधार गर्न या स्वदेश फर्कन सुविधा दिएको हो । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरिएको हो । 

आइतबारदेखि ३ महिनासम्मका लागि यो व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । 

कतारी आईडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छाडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिइएको हो ।

यस अवधिमा बिनाजरिमाना तथा बिना जेल सजाय अवैध कामदार घर फर्कन पाउने छन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेभित्र गएर निवेदन दिनुपर्ने छ ।

आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुन नम्बर २१ अन्तर्गत यो प्रक्रिया थालनी गरेको आन्तरिक मन्त्रालयले जनाएको छ । 

नेपाली पनि लाभान्वित

यो आममाफीबाट गैरकानुनी हैसियतमा रहेका नेपालीहरू पनि लाभान्वित हुने छन् ।

कम्पनीमा वर्किङ भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेका नेपालीहरूले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजातसहित विभिन्न केन्द्रमा गएर आफ्नो कानुनी अवस्था सुधार गर्न सक्छन् ।

यसरी आफ्नो कानुनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिमाना छुट तथा मिनाह हुने छ भने आफूले जब अफर लेटर पेस गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिन्छ ।

त्यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर (साविकको इन्डस्ट्रियल एरिया) मेसाइमिर सर्भिस सेन्टर, अल वाक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा जान सकिन्छ ।

यसरी रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरणसमेत हुन्छ । त्यसका लागि सर्च एन्ड फलो अप डिपार्टमेन्ट (एसएएफडी)मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिमाना छुट तथा मिनाह गरी स्वदेश फर्कन पाइन्छ ।

जुनसुकै प्रकारको भ्रमण भिसा (टुरिस्ट, पारिवारिक भिसालगायत)मा कतार गएको तर भिसाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएएफडीमा उपस्थित भई दण्ड र जरिमाना मिनाह गरी स्वदेश फर्कन सक्ने छन् ।

कतार सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै दण्ड जरिमानाबाट बच्न र आफ्नो कानुनी अवस्था सुधार वा स्वदेश फर्कन नेपाली दूतावासले पनि अनुरोध गरेको छ ।

कतार सरकारले दिएको यो सुविधालाई अधिकतम उपयोग गर्न नेपाली महिला समाज कतारकी अध्यक्ष माया के. सी.ले आग्रह गरेकी छन् ।

कतारमा कति छन् नेपाली ?

पछिल्लो तथ्यांकअनुसार कतारमा ३ लाख ४४ हजार ४०५ जना नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । त्यहाँको सरकारी क्षेत्रमा ९ हजार ७१ पुरुष, ४०६ महिला, अर्धसरकारी क्षेत्रमा ४ हजार २०० पुरुष र १३८ महिला कार्यरत छन् । त्यस्तै, निजी क्षेत्रमा सबैभन्दा धेरै ३ लाख ९ हजार ५७६ पुरुष र २१ हजार १७ महिला गरी कुल कतारमा ३ लाख ४४ हजार ४०५ जना कार्यरत रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । 

कतारस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टका अनुसार कतारमा कति नेपाली अवैध छन् भन्ने यकिन तथ्यांक नभए पनि  करिब १५ हजारभन्दा बदी नेपाली अवैध तरिकाले बसिरहेका छन् ।

वैदेशिक रोजगार विभागअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार १३८ नेपाली कतार गएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ६९९ र आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ८१५ नेपाली कामदार कतार गएका छन् ।

विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक राखे पनि अवैध रूपमा जानेहरूका विषयमा कुनै जानकारी छैन । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार खाडी मुलुक कुबेत, साउदी, कतार, ओमन, बहराइन र इराकमा ठूलो संख्यामा महिलाहरू घरेलु कामदारमा जाने गरेका छन् । 
‘सरकारले घरेलु कामदार प्रतिबन्ध लगाए पनि भिजिट भिसा र भारतको बाटो हुँदै खाडी देशहरूमा गइरहेका छन्’, ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन् ।

ADV

सम्बन्धित खबर

Advertise