काठमाडौं : २ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट लुकाएर ल्याएको ६० किलो सुन काण्डले करिब १ वर्षसम्म तातेको सडक र सदन यतिबेला शान्त छ । भन्सार कर्मचारीसमेतको मिलेमतोमा भित्र्याइएको ६१ किलो र त्यसअघि इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत भित्रिएको ३३ किलो सुन तस्करीलगायतका काण्ड सामसुम हुँदै गएका हुन् ।
नेपालमा विभिन्न समयमा भएका ठूला सुन तस्करी काण्डहरूमा उच्च तहका व्यक्तिहरूको संलग्नता, संगठित गिरोह र भन्सार तथा सुरक्षाकर्मीहरूसमेतको मिलेमतो रहेको पाइन्छ । यी काण्डमा संलग्नमाथि कारबाही गरी सुन तस्करीलाई नियन्त्रण गर्न सहयोग पुग्ने उद्देश्यले गठन भएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
‘जाँचबुझ आयोगले १ चैत २०८० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो’, आयोगका तत्कालीन अध्यक्ष डिल्लीराज आचार्यले भने, ‘आयोगले हङकङबाट स्कुटरको ब्रेक प्याडको रूपमा तस्करी गरेर ल्याइएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट भेपमा लुकाएर दुबईबाट ल्याइएको सुनबारे अनुसन्धान गरेको थियो ।’
आयोगले कारबाही गर्नुपर्ने व्यक्तिहरूको नाम र नीतिगत सुधारका सुझावहरूसमेत प्रतिवेदनमार्फत सरकारलाई दिएको उनको भनाइ छ ।
सुन तस्करी मात्र होइन, अन्य प्रकरणमा बनाइएका आयोगले बुझाएका प्रतिवेदनहरू पनि कार्यन्वायनन नहुने हो भने आयोग बनाउनुको औचित्यमाथि प्रश्न उठ्ने आचार्यले मध्यान्हलाई बताए । उनले भने, ‘हामीले तोकिएको जिम्मेवारीअनुसार अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाएका हौं । यसको कार्यान्वयन नगर्ने हो भने यस्ता आयोग गठनको औचित्यमाथि नै प्रश्न उठ्छ । यसकारण यसमा गम्भीर हुनुपर्छ ।’
सुन तस्करी अनुसन्धानका क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिहरूलाई प्रहरीका जिम्मेवार अधिकारीहरूले नै मुद्दा नचलाएर त्रुटि गरेका भन्दै आयोगले विभागीय कारबाहीको सिफारिस गरेको थियो ।
यस प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ सहित ६८ जनालाई आयोगले बयान र सोधपुछ गरेको थियो, जसमा विगतमा तस्करहरूसँग कनेक्सन भएकाहरू, अनुसन्धान अभियोजनमा छुटेका, थप अनुसन्धान र पुनः अभियोजन गर्नुपर्नेे रायसहित ४ तहमा विभाजन गरेर आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
६० किलो सुन तस्करी प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाइएकामा १८ जनामाथि मुद्दा दायर गरेको र २८ जना अझै फरार रहेका नेपाल प्रहरीले जनाएको छ । यद्यपि, आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानन ब्युरो (सीआईबी)का तत्कालीन अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रहरी उपरीक्षक सञ्जय थापा, नायब उपरीक्षकहरू रुगम कुँवर र दुर्गा दाहाललाई समेत कारबाहीका लागि सिफरिस गरेको थियो ।
सरकारले १६ असोज २०८० मा पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको जाँचबुझ आयोग बनाएको थियो ।
यसअघि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले २० चैत २०७४ मा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले अनुसन्धानपछि ७५२ पृष्ठ लामो प्रतिवेदन तयार पारी १६ साउन २०७५ मा सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन पनि अहिलेसम्म गुमनाम छ ।
सो छानबिन समितिले ५ वर्षको अवधिमा हवाई मार्गबाट करिब ३८ सय किलो सुन तस्करी भएको निष्कर्ष निकालेको सरकारी अधिकारीहरू बताउँछन् । मुख्य अभियुक्त चूडामणि उप्रेती उर्फ ‘गोरे’को समूह नेपालमा सुन तस्करीको ठूलो गिरोहका रूपमा रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो ।
यी घटनाहरूले नेपालमा संगठित सुन तस्करीको जालो रहेको पुष्टि गर्छन् । सरकारले छानबिन आयोगहरू गठन गरे पनि ठूला गिरोहका वास्तविक मुख्य नाइकेहरू अझै पक्राउ परिसकेका छैनन् । सुन तस्करीमाथि कारबाही गर्ने विषयमा सरकार मौन छ ।
थुनामा रहेकाहरू
सुन तस्करीका मुख्य योजनाकार ठमेलस्थित ‘भियना होटल’ संचालक चिनियाँ नागरिक दावा छिरिङ, भारतीय नागरिक थुप्तेन छिरिङ (टासी) थुनामा छन् । त्यस्तै, हर्कराज राई, रामकुमार भुजेल, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल, सन्तोष चन्द, सुरेन्द्रमान श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुली थुनामा छन् ।
प्रमुख घटना र संलग्न व्यक्तिहरू
३८ सय किलो सुन तस्करी प्रकरण
– २०७०–२०७५ सम्म ५ वर्षको अवधिमा करिब ३ हजार ८०० किलो सुन नेपाल हुँदै भारततर्फ तस्करी भएको विभिन्न पटक गठन भएका छानबिन आयोगको प्रतिवेदन सार्वजनिक ।
– सबै सुन त्रिभुवन विमानस्थलमार्फत भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि ।
३३ किलो सुन तस्करी प्रकरण
– ९ फागुन २०७४ मा दुबईबाट नेपाल भित्रिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट भन्सार पास भएको थियो । सुन तस्करीमा संलग्न गिरोहको भागबन्डा नमिल्दा सनम शाक्यको हत्या भएको थियो ।
– चूडामणि उप्रेती उर्फ ‘गोरे’, भन्सार कर्मचारी तथा प्रहरी र विमानस्थलका कर्मचारीहरू संलग्न ।
– ३० भन्दा बढी पक्राउ तर सुन गायब ।
६५ किलो सुन तस्करी प्रकरण
– ३ साउन २०८० मा हङकङबाट ‘भेप’ (इलेक्ट्रोनिक चुरोट)का पार्टपुर्जाका रूपमा ६५ किलो सुन भन्सार पार गरिसकेपछि राजस्व अनुसन्धान विभागबाट बरामद ।
– विभिन्न व्यापारी र भन्सार कर्मचारीहरू संलग्न ।
– जाँचबुझ आयोग गठन ।
– केही सरकारी अधिकारी र व्यापारी पक्राउ परे पनि दर्जन बढी फरार ।
६० किलो सुन तस्करी प्रकरण
– १९ असार २०८० मा हङकङबाट आएको स्कुटर ब्रेक प्याडका रूपमा लुकाइएको ६० किलो सुन त्रिभुवन विमानस्थल भन्सार पार गरेर बाहिर निकालिएको अवस्थामा पक्राउ ।
– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का केही प्रहरी अधिकारीहरूमाथि समेत छानबिन ।
– ४६ जनालाई प्रतिवादी बननाइएकामा १८ जनामाथि मुद्दा दायर, २८ जना अझै फरार ।