२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

रौतहटमा बढ्दै तस्करी

shivam cement
मध्यान्ह
२०८२ असोज १४ गते ०८:०२
रौतहटमा बढ्दै तस्करी

रौतहट : नेपाल–भारत सीमा जोडिएको रौतहट जिल्लामा तस्करी बढ्दै गएको छ । ठूलो परिमाणमा अवैध पान मसला बोकेको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि घटनालाई सार्वजनिक नगरेपछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

जिल्लाको पश्चिमी भेगस्थित इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाले आइतबार राति करिब ८:३० बजे उक्त ट्रक नियन्त्रणमा लिएको थियो । प्रारम्भिक कारबाहीपछि ट्रक र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको भए पनि लामो समयसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

जिल्लाका सुरक्षा निकायका प्रमुख, विशेषगरी शसस्त्र प्रहरी प्रमुखहरूले रौतहटमा तस्करी शून्य रहेको दाबी गर्दै आएका थिए । तर, रातिको समयमा ठूलो ट्रकमार्फत गुटखाजन्य पान मसला जस्तो अवैध सामान भित्रिनुले ती दाबीहरू खोक्रा सावित भएको देखिएको छ ।

स्थानीय बासिन्दा र नागरिक समाजका अगुवाहरूले प्रहरी नेतृत्वमाथि प्रश्न उठाउँदै भनेका छन्, “यदि सीमा क्षेत्रमा कडाइ छ भने यत्रो ठूलो परिमाणको तस्करी कसरी नेपाल भित्रियो? र, नियन्त्रणमा लिइएको ट्रक तथा चालकबारे विवरण किन लुकाइयो?”

सामान्य चोरी–तस्करीका घटनामा समेत प्रहरी प्रेस विज्ञप्ति सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । तर, यति ठूलो र सङ्गठित प्रकृतिको तस्करीको घटनालाई गोप्य राखिनुले प्रहरी प्रशासनमाथि गहिरो शंका उत्पन्न भएको छ ।

ट्रकको नम्बर, नियन्त्रणमा लिइएको सामानको परिमाण, अन्तर्राष्ट्रिय मूल्य र चालकको पहिचानसमेत सार्वजनिक नगर्दा ‘मोलमोलाई’ भइरहेको वा उच्च राजनीतिक–आर्थिक दबाबका कारण घटना दबाइएको हुनसक्ने आशंका स्थानीय स्तरमा फैलिएको छ ।

घटनाले सीमा क्षेत्रमा क्रियाशील तस्करीको सञ्जाल अझै बलियो रहेको संकेत दिएको छ । प्रहरी प्रशासनले पारदर्शिता नदेखाउँदा तस्करहरू प्रोत्साहित हुने र प्रहरीको निष्पक्षतामाथि जनविश्वास कमजोर हुने खतरा देखिएको छ ।

स्थानीयवासीहरूले जिल्ला प्रहरी कार्यालयलाई घटनाको सम्पूर्ण विवरण सार्वजनिक गर्न, पक्राउ परेका व्यक्तिको पहिचान खुलाउन र कानुनअनुसार निष्पक्ष कारबाही अगाडि बढाउन माग गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise