२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एसईई फेल भएका विद्यार्थीलाई राहत

ADV
शिव विक
२०८१ असार १५ गते ०६:५०
एसईई फेल भएका विद्यार्थीलाई राहत

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेल भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । 

दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए ।

‘एनजी आएका (फेल भएका) सबै विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने निर्णय भएको छ’ दाहालले भने, ‘यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएको हो ।’ 

एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाइने भएको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यसले एसईईमा फेल भएका विद्यार्थीलाई राहत मिलेको छ । बिहीबार सार्वजनिक भएको एसईईमा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड (फेल) भएका छन् । एसईईको नतिजाअनुसार २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी मात्रै पास भएका छन् । २ लाख ४७ हजार विद्यार्थी फेल भएका छन् । 

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थी सहभागी भएका थिए ।

एसइईको २०७१ सालपछि पहिलो पटक पास र फेलसहितको नतिजा निकालिएको हो । जसमा ५२ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका हुन् । जसले कक्षा ११ पढ्न पाउने छैनन् । 

तर, अब मौका परीक्षा पास गरेको खण्डमा भने उनीहरूले कक्षा ११ पढ्न पाउनेछन् । यो विषयमा संसदमा समेत आवाज उठेको थियो । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न माग गरे । 

एसईई नतिजाले यी तीन विषयका लागि विशेष व्यवस्था गर्नुपर्ने देखाएको उनको भनाइ छ ।

‘साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले भने ।

नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको र परीक्षामा विद्यार्थीहरु समेत यही तीन विषयमा धेरै फेल भएको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise