काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू पार्टीको महाधिवेशन आगामी आमनिर्वाचनपछि धकेल्ने रणनीतिमा लागेका छन् । सभापति देउवाले १४औं महाधिवेशनसम्म आफ्नो पक्षमा रहेका पूर्वपदाधिकारीहरूलाई शुक्रबार निजी निवास बूढानीलकण्ठ बोलाएर यो विषयमा छलफल चलाएका हुन् ।
छलफलमा पार्टीको महाधिवेशनदेखि नेताहरूले टिम परिवर्तन गर्न लागेको विषयले समेत प्रवेश पाएको छ । समयमै १५औं महाधिवेशन हुनुपर्ने मुद्दा बोकेर संस्थापनइतर (शेखर) पक्षका नेताहरूले दबाबमूलक कार्यक्रमहरू गरिरहँदा सभापति देउवाले भने महाधिवेशन आमनिर्वाचनपछि सार्ने बहस चलाएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति निवास बूढानीलकण्ठमा भएको छलफलमा पार्टीको १५औं महाधिवेशन २०८२ मंसिरसम्म हुन नसक्ने निष्कर्ष निकालेको बताए । ‘सभापतिले पार्टीका पूर्वपदाधिकारीहरूसँग छलफल गर्नुभयो’, उनले मध्यान्हसँग भने, ‘छलफलमा महाधिवेशन र आमनिर्वाचन नजिक भयो भने समस्या हुन्छ भन्ने कुरा उठेको छ । ४ वर्षमा महाधिवेशन हुने सम्भावना छैन । हामीले तयारी गर्न खोज्दाखोज्दै सकेनौं । विधानले दिने १ वर्षपछि निर्वाचन नजिकिने हुँदा महाधिवेशन चुनावपछि नै गर्ने कि भन्ने विषयमा साथीहरूको सुझाव छ ।’
पार्टी संचालनमा सभापतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने विषयसमेत छलफलमा उठेको उनले बताए । ‘पार्टीमा व्यक्तिगत दौड धेरै भयो’, देउवा निकट नेता महतले भने, ‘महाधिवेशनका नाममा व्यक्तिगत दौड धेरै भयो तर पार्टीलाई मजबुत बनाउने विषयमा नेताहरूले ध्यान दिएका छैनन् । यसमा सभापतिले नै अलि बढी निगरानी राख्नुपर्ने सहभागी नेताहरूले सुझाव दिएका छन् ।’
सभापति देउवा आगामी निर्वाचनको टिकट वितरण गरेर मात्र महाधिवेशन गर्ने योजनामा छन् । तर, संस्थापनइतर पक्षका नेताहरू भने पार्टीलाई वैधानिक र संवैधानिक प्रश्नको घेरामा राखेर महाधिवेशन सार्न नदिने बताउँदै आएका छन् ।
‘पार्टीको महाधिवेशन सार्नुपर्ने कुनै कारण नै छैन’, कांग्रेस सहमहामन्न्त्री जीवन परियारले भने, ‘हामीले अझै पनि तयारी गर्दा २०८२ भित्रै महाधिवेशन गर्न सक्ने समय छ । तर, सभापतिले आफ्ना गुटका नेताहरूलाई मात्र बोलाएर पार्टीमाथि वैधानिक र संवैधानिक प्रश्न उठ्नेगरी छलफल गर्नुलाई आमकार्यकर्ताले उचित ठानेका छैनन् । महाधिवेशन सार्नुको कुनै कारण नै छैन ।’
संस्थापन पक्षले गुट चलाएर पार्टी सक्ने योजना बनाउँदा आफूहरू चुप लागेर नबस्ने उनले बताएका छन् ।
पार्टीको विधानअनुसार २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, कारणवश १ वर्ष सार्न सकिने विधानमा भएको सुविधालाई देउवा र उनी निकटका नेताहरूले उपयोग गर्ने पक्का भएको छ । त्यसपछि संविधानले दिएकाो व्यवस्थाअनुसार ६ महिना थप्न देउवालाई कसैले रोक्न सक्दैन ।
यसो गर्दा २०८४ जेठसम्म देउवाले पार्टीको नेतृत्व गर्ने सम्भावनना छ । २०८४ जेठमा स्थानीय तहको निर्वाचन सुरु हुने र सोही मंसिरमा आमनिर्वाचन गर्नुपर्ने भएकाले पार्टीको महाधिवेशनलाई कुनै न कुनै उपाय निकालेर पनि चुननावपछि धकेल्ने प्रयास देउवा पक्षको छ ।
एमालेसँगको सत्ता सहयात्रामा भएको सम्झौता कार्यान्वयन भए देउवा २०८३ असारमा प्रधाननमन्त्री हुने छन् । उनले आफ्नै सरकार बनाएपछि देउवाले स्थानीय तह र आमनिर्वाचन २०८४ जेठ–असारसम्म एकै पटक गर्नेगरी योजना बनाएको हुन सक्छ ।
७ देखि १० फागुन २०८० सम्म गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री गगन थापाले २०८२ मंसिरभित्रै १५औं महाधिवेशन गर्ने प्रतिवेदन ल्याएका थिए । महामन्न्त्री थापाले समेत अहिले पार्टीको महाधिवेशन २०८४ अघि नै हुने बताउँदै आएका छन् ।
समूह जोगाउन चुनौती
गत महाधिवेशनसम्म आफूलाई नजिकबाट सहयोग गर्ने नेताहरू ध्रुवीकरण हुन थालेपछि समूह जोगाउन चुनौती देखेका सभापति देउवाले नेताहरूलाई घरमै बोलाएर आशय बुझेका हुन् । समयमै महाधिवेशन भए अर्को समूहमा जान खुट्टा उचाल्न थालेका उनी निकटका नेताहरू समेत महाधिवेशन सारेर आगामी चुनावको टिकट देउवाले नै वितरण गर्ने संकेत गरेपछि आफ्नो समूह छाड्ने सम्भावना कम हुने संस्थापन पक्षको बुझाइ छ ।
आफ्नो समूहका नेताहरूलाई टिमबाट बाहिर जान नदिने र महाधिवेशन सार्ने रणनीति बनाउँनकै लागि सभापति देउवाले आफू निकटस्थ रहेका तर शेखर पक्षतिर ढल्कन थालेका नेताहरूलाई बोलाएको देउवा निकटका एक केन्द्रीय सदस्यले बताए ।
देउवा पक्षका बालकृष्ण खाण, एनपी साउद, मोहनबहादुर बस्नेत, डीना उपााध्याय, डिला संग्रौलालगायत नेताहरू केही समयदेखि बरिष्ठ नेता डा. शेखर कोइरासँग निकट हुँदै गएका थिए । कतिपय पार्टीका सार्वजनिक कार्यक्रममा उनीहरू कोइरालासँगैका राजननीतिक मञ्चहरूमा भाषण गर्दै कोइरालालाई आगामी सभाापतिमा सहयोग गर्ने बताउन थालेका थिए ।
यद्यपि, शुक्रबार भएको देउवासँगको छलफलमा ती नेताहरूले आफूहरू समूह परिवर्तनको कुनै प्रयासमा नरहेको स्पष्टीकरण दिएका छलफलमा सहभागी नेताहरूले बताएका छन् । १५औं महाधिवेशन नजिक नआउँदै इतर पक्षका रूपमा डा. शेखर कोइरालाले गतिविधि बढाएपछि देउवा पनि आफू निकटका नेतासँग छलफलमा जुटेका हुन् ।
देउवाले बोलाएको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद र उमाकान्त चौधरी सहभागी थिए ।