रौतहट : मधेश केन्द्रित दलहरू एक ठाउँ उभिएपछि मधेशमा अन्ततः कांग्रेस–एमाले सत्ताबाहिर पुगेका छन् । जेनजी आन्दोलनका कारण संघीय सरकारबाट हटेपछि यी दुई दलको गठबन्धनले मधेश प्रदेशमा बहुमत जुटाउन नसकेको हो ।
जसपा नेपाल, लोसपा, जनमत पार्टी तथा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री बनेका छन् ।
जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेश राजनीतिमा तीव्र ध्रवीकरण भएको हो । जनमत पार्टी विभाजन भयो । त्यसैको लाभ उठाउँदै कांग्रेसका कृष्ण यादवले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर लोकतान्त्रिक मधेशी मोर्चामा माओवादी केन्द्र र एसले समर्थन गरेपछि कांग्रेस–एमाले सत्ताबाहिर भएका हुन् ।
एक दिनअघिसम्म कांग्रेस, एमालेसँग गठबन्धन गरेको बताएको जनमत पार्टीले युटर्न लिँदै लोसपाका उम्मेदवार सोनललाई सघाउने सहमति गरेको थियो । सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको समय सकिनुअघि जनकपुरको राजनीतिमा ठुलो तरंग आउनेगरी उथलपुथल भएको छ । रातभर चलेको छलफलपछि कांग्रेस–एमालेइतर सरकार बनाउन दलहरू सहमत भएका थिए । फलस्वरूप बुधबार बिहानै १० बजे सोनलले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुगे । उनलाई साथ दिन जनमत संसदीय दलका नेता महेश यादव पनि सँगै थिए । केही दिनअघि मात्र जनमत पार्टीले कांग्रेस नेतृत्वमा सरकार बनाउनेभन्दै प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्दासमेत यादव सहभागी थिए । उनको दोहोरो समर्थनका कारण दिउँसो १२ बजेपछि तनावको स्थिति बन्यो । कांग्रेसका उम्मेदवारले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयमा सेना परिचालन गर्नुपर्ने स्थितिसम्म पुग्यो ।
जनमत पार्टीको समर्थन आफूलाई रहेको पत्र कांग्रेसले दर्ता गराएको थियो । त्यसको खण्डन गर्दै जनमत पार्टीले छुट्टै बेहोराको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएपछि त्यसैलाई आधार मानेर प्रदेश प्रमुखले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । लोसपा नेतृत्वको गठबन्धनलाई कांग्रेस–एमालेइतर दलहरूका ५६ सांसदको समर्थन छ । जनमत पार्टीका १३ जना सांसदको समर्थन जितेन्द्र सोनललाई रहेको दाबी चलिरहँदा मधेश प्रदेश संसदीय दलमा फुट आयो । मंगलबार मात्रै निर्वाचन आयोगबाट वैधानिकता पाएको जनमतका दुई सांसदले नव गठित जनस्वराज पार्टीमा रहेको सनाखत गरेपछि उनीहरूको समर्थन कसलाई भन्ने अन्योल कायमै छ ।
गत असोज २२ गते कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस भएपछि मधेशमा राजनीति माहोल तातिएको थियो । प्रदेश बनेदेखि पहिलोपटक मुख्यमन्त्री मधेशकेन्द्रित दलबाहेकबाट पेस भएको थियो ।
अहिलेसम्म मधेशमा मुख्यमन्त्रीहरू मधेश केन्द्रित दलबाटै हुँदै आएका छन् । पहिलो मुख्यमन्त्री जसपाका लालबाबु राउत गद्दी बनेका थिए । दोस्रो मुख्यमन्त्री सोही दलका सरोज यादव र तेस्रो मुख्यमन्त्री जनमत पार्टीका सतीशकुमार सिंह बनेका थिए । कांग्रेस नेतृत्वमा मधेश सरकार गठनका लागि दाबी प्रस्तुत भएपछि मधेशमा व्यापक चर्चा चल्यो । मधेश ‘सेन्टिमेन्ट’को कारणले अन्तमा कांग्रेसलाई समर्थन गरिसकेका जनमत ‘ब्याक’ हुँदै लोसपालाई सघाउने निर्णयमा पुगेको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव संयोगले जनकपुरमै हुँदा मधेश केन्द्रित दलकै नेतृत्वमा जाने प्रयास सुरु गरिएको थियो । यादव जसपा प्रदेश अधिवेशन र ठाकुर कार्यकर्ता भेटघाटका लागि जनकपुर पुगेका बेला भएको भेटले ब्रेक थ्रु गरेको थियो । लगतै जसपा र लोसपाका दोस्रो तहका नेताहरू अन्य दलसँग संवाद अगाडि बढाएका थिए । लोसपा अध्यक्ष ठाकुरले जनमत अध्यक्ष सिके राउतलाई फकाएका थिए । नयाँ गठबन्धन बनेपछि लोसपाका सहमहासचिव अनिलकुमार सिंहले यो मधेश ‘सेन्टिमेन्ट’को जित रहेको प्रतिक्रिया दिएका छन् । उनले यो गठबन्धन बनेसँगै मधेश केन्द्रित दलबीच एकताको सन्देश र मधेशको मर्म र भावनालाई दलहरूले आत्मसात् गरेको रूपमा बुझ्नुपर्ने बताए ।