बझाङ : बझाङका बालबालिकाहरूले जयपृथ्वी नगरपालिकाको आयोजना, प्रगतिशील युवासमाज र वल्र्डभिजनको आर्थिक सहयोगमा संचालित रेडियो कार्यक्रम बालकचहरीमा छाउगोठमा बस्नुपर्ने अनिवार्यतामाथि प्रश्न गरेका छन् । उनीहरूले छाउगोठमै बस्नुपर्ने बाध्यताले भविष्यमा पार्ने प्रभावको बारेमा चिन्ता व्यक्त गर्दै प्रश्न गरेका हुन् ।
जयपृथ्वी नगरपालिका–११ मा गठन भएको बालक्लवकी स–सचिव उर्मीला जोशीले भनिन्,‘हामीले पनि भोली छाउगोठमै बस्नु पर्ने डर र चिन्ता लाग्छ । घरका ठूलोहरूले भनेको कुरा मान्नै पर्छ भन्ने मानसिकता राख्ने गरेका छौं । अहिले हाम्रो समाजमा आमा, भाउजु र दिदीहरू पनि छाउगोठमा बस्न थालेका छन् ।’
त्यस्तै, जयपृथ्वी नगरपालिका–११ कि बालक्लवकी सदस्य रेखा जोशीले भनिन्, ‘यो प्रथा हामीलाई नराम्रो लाग्छ । जब हामी ठूला हुन्छौं, हामीलाई पनि छाउगोठमा राख्ने हुन् की भन्ने डर लाग्छ ।’ जयपृथ्वी नगरपालिका–११ का वडाअध्यक्ष सर्जन थापाले भने, ‘पहिले देखि चलेको यो चलन अहिले कम हुँदै गएको छ । जुनरुपमा पहिला मान्थे त्यो कम हुँदै गएको छ । पढेलेखेका घरहरूमा अब छाउगोठको प्रथा छैन, तर जो नबुझेका छन्, उनीहरूले अझै पनि छाउगोठमा सुताउने गरेका छन्, भन्ने सुन्नमा आएको छ ।’
उनका अनुसार, यो प्रथा धेरैजसो अशिक्षित र परम्परागत सोच राख्ने परिवारहरूले पालन गर्दै आएका छन् । पहिलेको तुलनामा धेरै परिवारहरूले अब छाउगोठको प्रथाबाट आफूलाई अलग राखेका छन् । छाउगोठमा बस्ने प्रथा, जुन पुराना समयदेखि चल्दै आएको हो, अहिले एक अर्थमा कम हुँदै गएको वडाअध्यक्ष थापाको भनाई छ । यसको अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम लगाएत अन्य संघसंस्थासँग पनि सहकार्य गरेर अगाडि बढ्नेसमेत थापाले बताए ।