स्थानीय प्रशासन र प्रहरीले पहिरोको जोखिम सम्झाउँदै सवारी फर्काउन खोजे पनि चालक र यात्रुहरुले अटेरी गरिरहेका थिए । तर, मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा ढुंगा खस्ने क्रम नरोकिएपछि कडाईका साथ दुईतर्फी सवारी ठप्प पारिएको छ ।
अविरल वर्षाले पहिरो र ढुंगा खस्ने क्रम नरोकिएपछि कडाईका साथ सवारी आवागमन बन्द गरिएको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ । ढुंगा झरिरहेकाले पहिरो पन्छाउन अप्ठेरो भइरहेको छ ।
निरन्तरको वर्षाले मुग्लिन नारायणगढ खण्डमा पहिरोको उच्च जोखिम छ । त्यसैले सडक डिभिजन, स्थानीय प्रशासन र प्रहरीले अत्यावश्यक स्थितिमा बाहेक जोखिम मोलेर यात्रा नगर्न सचेत गराउँदैआएको छ । यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ । तर, राजमार्गमा यात्रु र सवारी साधनको लामै लर्को छ ।
अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित हुनुका साथै विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् । मनसुन अझै दुई दिन सक्रिय हुने भएपछि सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिइसकेको छ ।