अविरल वर्षाले कोशी प्रदेशको इलाम जिल्लामा सबैभन्दा धेरै मानविय क्षति पुगेको छ । बाढीपहिरोमा परी १७ जनाको मृत्यु भइसकेको छ भने केही हराइरहेका छन् । इलाम, सूर्योदय र देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा पहिरोको बढी क्षति पुगेको छ ।
इलाम नगरपालिकाको घोसका डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको ज्यान गएको छ । यसैगरी, सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङ्ग निवासी राजु क्षेत्रीको घर पनि पहिरोले पुरिएको छ । पुरिएको घरबाट ४ जनाको शव निकालिएको थियो भने एक जनालाई गम्भीर घाइते अबस्थामा उद्दार गरिएको थियो । उनको पनि अस्पताल लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेलको कमाण्डमा गएका ७ जनाको टोलीले पहिरो हटाएर मृतकलाई निकालेका थिए ।
देउमाई नगरपालिका–५ घुसेनीमा रहेको दीपक लिम्बुको घर पनि पहिरोमा परेको छ । घरमा रहेका दुई जनाको ज्यान गएको छ भने १ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँका मदन लिम्बुको घर पनि पहिरोले पुरिँएको छ । पुरिएको घरमा रहेका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, फाकफोकथुमको रातोमाटेका ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । पहिरोमा परी घाइते भएका दुई जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्दार गरी अस्पताल पुर्याएको छ ।