अविरल बर्षाले काठमाडौं उपत्यकाका नदिनालामा बाढी उर्लिएपछि किनाराका बस्तीका बासिन्दाको उठिबास हुन थालेको छ । नदीको सतह बढेसँगै किनाराका बस्ती उच्च जोखिममा परेका छन् । नदि किनारका बासिन्दाले बस्ती छाडेर सुरक्षित ठाउँमा जान थालेका छन् । उनीहरुका लागि अस्थायी रुपमा बस्न काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरू तयारी अवस्थामा राख्न भनेको छ ।
जोखिमयुक्त बस्तीमा बसोबास गर्ने परिवारहरुलाई नजिकैका विद्यालयहरूमा राख्ने प्रबन्ध मिलाउन थालिएको महानगरले जनाएको छ । विपद् व्यवस्थापन विभागले बागमती, विष्णुमतीलगायतका नदिमा पानीको सतह निगरानीमा राखिएको र उच्च जोखिम रहेकोभन्दै बस्ती छाड्न भनेको छ।
थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रबाट बिस्थापित हुनेहरुका लागि स्थानीय वडा सदस्यहरूसँग समन्वय गरेर आश्रयस्थल पहिचान भइसकेको महानगरले जनाएको छ । विपद्को अवस्थामा प्रभावितका लागि बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरूसहित तयार रहन भनिएको छ । शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको महानगरले जनाएको छ।