२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

चार रुपैयाँमा झर्‍यो गोलभेंडाको थोक मूल्य, सर्लाहीका किसान मर्कामा

hardik ivf
घनश्याम बलम्पाकी
२०८१ फागुन १४ गते २०:४०
चार रुपैयाँमा झर्‍यो गोलभेंडाको थोक मूल्य, सर्लाहीका किसान मर्कामा

सर्लाही : गोलभेँडाको मूल्यमा भारी गिरावट आएपछि सर्लाहीका किसान मर्कामा परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन भएको गोलभेँडा थोक तरकारी बजारमा प्रतिकेजी चार रुपैयाँमा बिक्री गर्नु पर्दा किसान मर्कामा परेका हुन् । 

अहिले किसानले बजारमा प्रति क्यारेट सय रुपियाँमा गोलभेँडा बिक्री गर्न बाध्य भएका छन् । एक क्यारेटमा २५ किलोग्राम हुन्छ । व्यावसायिक रूपमा खेती गर्दै आएका सर्लाहीको  हरिवन, लालबन्दी, इश्वरपुर र बागमती नगरपालिकाका किसानहरू गोलभेँडाको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् ।

किसानले लगाएको गोलभेँडा एकैपटक पाकेको र उचित मूल्य नपाउँदा मारमा परेको लालबन्दी नगरपालिका–१०, का किसान ध्रुव भुजेलले बताए । उनले किलोको चार रुपैयाँमा गोलभेँडा बिक्री गर्दा लगानी समेत नउठेको गुनासो गरे । तर, त्यही गोलभेंडा सर्लाहीकै स्थानीय बजारमा खुद्रामा २० देखि ३० रुपैयाँसम्म बिक्री भइरहेको उपभोक्ताहरूले जनाएका छन् ।

‘चार रुपैयाँमा गोलभेँडा बेच्दा किसानलाई घाटैघाटा छ’, हरिवन ३ का किसान राम विश्वास साहले भने, ‘जोताई, बीउ र विषादीको खर्च केही पनि उठ्दैन् ।’ उनकाअनुसार अन्य तरकारीको तुलनामा गोलभेँडा खेतीमा बढी मेहनत र खर्च हुन्छ । सस्तोमा गोलभेँडा बेच्नु परेपछि कतिपय किसानले मूल्य बढ्ने आशाामा गोलभेँडा नटिपेर बारीमै छाड्न थालेको साहले बताए ।

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरकाअनुसार सबैतिर एकैपटक गोलभेँडा उत्पादन भएको तर खपत हुन नसकेका कारण किसानले मूल्य पाउन नसकेका हुन् । ‘अहिले चितवन, काठमाडौंलगायत जताततै गोलभेँडा अत्याधिक उत्पादन भइरहेकाले मूल्य खस्किएको हो’, मगरले भने, ‘काठमाडौंलगायत देशका अन्य सहरमा निर्यात घटेपछि गोलभेँडा बेच्नै मुस्किल परिरहेको छ ।’ गएको वर्षभन्दा तुलनात्मक रूपमा यसवर्ष गोलभेँडाको उत्पादन पनि बढी भएको उनले बताए । 

लालबन्दी थोक तरकारी बजारबाट काठमाडौंलगायत देशका विभिन्न सहरमा दैनिक ९० देखि सय टन गोलभेँडा निर्यात हुने गरेको कृषि थोक बजार ब्यवस्थापन समिति लालबन्दीले जनाएको  छ । सर्लाहीमा उत्तरी भेगको हरिवन, लालबन्दी, ईश्वरपुर, र बागमती नगरपालिकाको २ हजार ५सय हेक्टर जग्गामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise