
काठमाडौं : नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ । आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन् । नेपालको हिमालय पर्वत शृंखलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यस कलेक्सनलाई ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ । प्रकृति र आधुनिक वास्तुकलाको संयोजनलाई टायल्सको डिजाइनमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ कलेक्सन ल्याइएको कम्पनीको भनाइ छ ।
कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड र अरबेस्काटो गोल्डजस्ता आकर्षक डिजाइनका साथै ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरलजस्ता क्लासिक डिजाइन रहेका छन् । ठुलो आकारका टायल्स प्रयोग गर्दा सतहमा जोडाइका रेखा कम देखिने भएकाले इन्टेरियरलाई एकरूप र खुला देखाउन सहयोग पुग्छ । पछिल्लो समय आवासीय तथा व्यावसायिक भवनको डिजाइनमा ठुलो आकारका टायल्सको प्रयोग बढ्दै गएकाले नयाँ कलेक्सनले वास्तुविद्, इन्टेरियर डिजाइनर तथा घर निर्माण गर्ने ग्राहकलाई थप विकल्प दिने अपेक्षा कम्पनीले गरेको छ ।
नेपोभिटले बदलिँदो उपभोक्ता रुचि र निर्माण क्षेत्रमा विकसित हुँदै गएका डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर उत्पादन पोर्टफोलियो विस्तार गर्दै आएको जनाएको छ । नेपाली बजारमै टायल उत्पादन गर्दै आएको कम्पनीले गुणस्तर, डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आफ्नो उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ । ‘हिमालय’ कलेक्सनमार्फत नेपाली प्राकृतिक पहिचानलाई आधुनिक इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीको भनाइ छ । नेपोभिट टायल्स नेपालकै पहिलो टायल उत्पादक कम्पनी हो ।