काठमाडौं : नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलभित्र देखिएको विवाद मिलाउन प्रदेश पार्टी नेतृत्वलाई निर्देशन दिए पनि विवाद अझै साम्य हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशसभामा पार्टी तेस्रो ठूलो दल छ । तर, प्रमुख प्रतिपक्षी दलको भएकाले प्रदेशसभा र सरकारलाई निगरानी गर्ने सवालमा खरो उत्रिनुपर्ने हो पार्टी तर आफैं १ वर्षयता आन्तरिक किचलोमा फसिरहेको छ ।
२ वटा समूहमा विभाजित माओवादी केन्द्रको संसदीय दललाई एक ढिक्का बनाउन पार्टी अध्यक्ष दाहालले पटक–पटक लिखित र मौखिक निर्देशन जारी गर्दा पनि कार्यान्वयन हुन सकेको छैन । विवाद उल्टै झन्झन् गहिरिँदै गएको छ ।
‘तराई मधेश जागरण अभियान’मा व्यस्त रहेका अध्यक्ष दाहाल सुदुरपश्चिममा पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफैं सक्रिय छन् तर सकिरहेका छैनन् ।
अभियानका क्रममा मोरङमा रहेका अध्यक्ष दाहाल बुधबार सुदूरपश्चिमका प्रदेश सांसदहरूसँग छलफल गर्न काठमाडौं आएर सोही दिन फर्किए तर पनि विवाद यथावतै छ ।
दाहालसँग छलफल गर्न १० जना प्रदेश सांसदहरू नै काठमाडौं आएका थिए । उनीहरू प्रदेशमा स्थानीय नेतृत्वलाई प्रदेशको जिम्मा दिनुपर्ने माग गरेका थिए ।
प्रदेश इन्चार्ज तथा उपमहासचिव गिरिराजमणि पोखरेलले सुदूरपश्चिम प्रदेशको दलभित्रको विवाद नमिलाएसम्म आफूले काम नगर्ने अडान लिएपछि मूल नेतृत्वले नै विवाद समाधानका लागि पहल गरेको हो ।
विवादको कारण
माओवादीको सुदूरपश्चिम प्रदेशमा सहइञ्चार्जमा नेतृ बिना मगर र खगराज भट्ट छन् । भट्ट संसदीय दलको नेता भए पनि उनलाई हटाएर उपमहासचिव वर्षमान पुन निकट नेता मानबहादुर धामी १२ माघ २०८० मा संसदीय दलको नेता भए । त्यतिबेला पार्टी पनि सरकारमा थियो । सभामुखबाहेक १० जना सांसद रहेको माओवादी केन्द्रका ६ जना सांसदले बहुमतका आधारमा भट्टलाई हटाउने निर्णय गर्दै अर्का नेता धामीलाई दलको नेता बनाएपछि माओवादी संसदीय दल २ चिरामा बाँडिएको थियो ।
माओवादीमा सुदूरपश्चिम संसदीय दलमा ११ जना सांसद छन्, जसमा धामीको पक्षमा बहुमत सांसद छन् ।
उपमहासचिव पुन निकट समूहले भने पार्टीको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने आवाज उठाउँदै आएका छन् । अध्यक्ष दाहालले संसदीय दलको नेतामा भट्टलाई बनाउन मौखिक र लिखित निर्देशन दिए पनि धामी पक्षले त्यसलाई कार्यान्वयन गरेको छैन । विवादको जरो यहीँबाट सुरु भएको प्रदेश नेताहरू बताउँछन् ।
सुदूरपश्चिममा उपमहासचिव जनार्दन शर्मा समूहसमेत बलियो अवस्थामा छ । तर, संसदीय दलमा भने उनको उपस्थिति कमजोर छ । धामी पक्षका एक नेताले दलका नेता परिवर्तन गर्ने हो भने प्रदेशको इन्चार्ज आफ्नो समूहलाई दिनुपर्ने बताउँछन् ।
सुदूरपश्चिममा नेता भट्ट र कन्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद ओमविक्रम भाटबीच पनि विवाद उत्कर्षमा छ । भाटकै योजनामा भट्टलाई दल नेताबाट हटाइएको बताइन्छ । भाटलाई नेता भट्टले केन्द्रको निर्देशन हुँदाहँंदै मन्त्री सिफारिस नगरेपछि उनले दल नेता परिवर्तन गर्न भूमिका निर्वाह गरेको हुन सक्ने चर्चा पनि माओवादीभित्र छ ।
कोको छन् दाबेदार ?
प्रदेशको इन्चार्जका लागि बिना मगर र पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट लबिङमा छन् । संसदीय दलको नेता बन्न खोजेका भट्ट भने महासचिव शर्माको समूह हुंदै अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग निकट छन् ।
बहुमत सांसदहरूले त्यसअघि नै अध्यक्ष दाहाल समक्ष आफूहरूले संसदीय दलको नेता फेरबदल गर्ने संकेत गरिसकेका थिए । जबाफमा दाहालले आफूले बहुमतको कदर गर्ने भन्दै मौन स्वीकृति जनाएपछि उनीहरूलाई थप बल मिलेको थियो ।
सुदूरपश्चिममा किचलो बढ्दै गएपछि अध्यक्ष दाहालले ४ असारमा सबै सांसदहरूलाई काठमाडौं बोलाएर भट्टलाई संसदीय दलका नेतामा पुनस्र्थापना गर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन कार्यान्वयनको अत्तोपत्तो भएन ।
यस्तै, १२ असारमा पनि अध्यक्ष दाहाल र महासचिव देव गुरुङको संयुक्त हस्ताक्षरमा प्रदेश इन्चार्ज र अध्यक्षका नाममा भट्टलाई दलको नेता बनाउन लिखित निर्देशन जारी गरियो । तर, उक्त निर्देशनलाई न संसदीय दलले मान्यो, न त पार्टी समितिले लागू गराउन सक्यो ।
अध्यक्ष दाहालको पटक–पटक लिखित र मौखिक निर्देशन कार्यान्वयन नभएको भन्दै भट्ट समर्थक नेताहरूले आलोचना गरेपछि उनले भट्ट नै दलका नेता हुने भनेका थिए । तर, उक्त निर्णय भने पनि लागू भएको छैन ।
संसदीय दलभित्रको विवाद मिलाउन पटक–पटक गरिएको निर्देशन अवज्ञा भएपछि अध्यक्ष दाहाल तनावमा रहेका नेताहरूको भनाइ छ ।
मधेशको जागरण अभियान सकेर दाहाल २० फागुनमा धनगढी जाँदै छन् । त्यसअघि विवाद साम्य पार्न उनको निर्देशन छ । तर, यस पटक पनि अध्यक्षको निर्देशन कार्यान्वयन हुने छाँट नदेखिएको सांसदहरू बताउँछन् ।
अध्यक्षको निर्देशन बारम्बार कार्यान्वयन नहुँदा केन्द्र र स्थानीय नेताहरू अचम्मित छन् । प्रदेश समितिका एक नेता भन्छन्, ‘अध्यक्षको निर्देशन नमान्ने कसको ताकत छ र पार्टीभित्र ? अध्यक्षले नै दोहोरो भूमिका गरिरहेको हाम्रो बुझाइ छ ।’