काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पानी आपूर्ति ठप्प भएको छ ।
अस्पताल जस्तो संवेदनशील ठाउँमा पानी आपूर्ति ठप्प हुँदा सबै सेवा प्रभावित भएका छन् । अस्पतालमा पानी आपूर्ति नहुँदा कर्मचारी, डाक्टर, नर्स तथा बिरामी प्रत्यक्ष प्रभावित भएका हुन् ।
अस्पतालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को महाराजगन्ज शाखाले पानी आपूर्ति गर्दै आएको छ । केयूकेएलले घरघरमा आधा इन्चको पाइपमार्फत पानी आपूर्ति गर्दै आए पनि अस्पताललाई भने ४ इञ्चसम्मको पाइपबाट पानी दिँदै आएको छ ।
अस्पतालसँग रहेका २ वटा बोरिङ बिग्रिएका छन् । बोरिङले पानी तान्न छाडेपछि पानीको अभाव सृजना भएको हो । खानेपानीको पाइपबाट पनि अस्पतालमा नियमित पानी आपूर्ति भएको छैन ।
अस्पतालमा पानीको चरम अभाव भएकाले सरसफाइ र उपचार सेवा प्रभावित भएको अस्पतालकी प्रशासक सरस्वती गुरुङले बताइन् । उनका अनुसार अस्पताल परिसरको बोरिङले पानी तानेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भएको छैन ।
जारको पानीले काम चलाइँदै
अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार अहिले जारको पानी किनेर जसोतसो काम भइरहेको छ । पानीको अभावमा बिरामीको उपचारमा कुनै समस्या नपरेको उनले दाबी गरे । ‘जारको पानी किनेर अप्रेसन थिएटर र नर्मल स्लाइन लगेर सर्जरी गरिरहेका छौं’, डा. आचार्यले भने, ‘ट्यांकरमा पानी ल्याएर पनि व्यवस्थापन गरिहेका छौं ।’
डा. आचार्यका अनुसार केयूकेएलले सोमबार राति ८ बजेदेखि ११ बजेसम्म मात्र पानी दिएको छ । ‘राति २ बजेम्म पानी दिएको भए अस्पतालको ट्यांकी भरिन्थयो’, डा. आचार्यले भने । केयूकेएलको बदमासीले समस्या भएको उनको दाबी छ ।
केयूकेएलका एक कर्मचारीका अनुसार अस्पतालमा पानी आपूर्ति ठप्पै भएको जानकारी आएको छैन ।
किन भयो समस्या ?
शिक्षण अस्पतालले २ वटा बोरिङबाट पानीको आपूर्ति गर्दै आएको छ । नपुग पानी केयूकेएलले आपूर्ति गर्छ । तर, २ वटै बोरिङ एकै पटक बिग्रिएपछि सोमबारदेखि पानीको संकट भएको हो । २ वटा बोरिङमध्ये एउटा एक साता पहिला नै बिग्रेको थियो भने अर्को सोमबारदेखि बिग्रेको हो ।
अस्पतालमा आपूर्ति हुने कुल पानीमध्ये ७५ प्रतिशत बोरिङबाट र २५ प्रतिशत केयूकेएलमार्फत आपूर्ति हुन्छ । अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ ।
केयूकेएलको पानी पनि ट्यांकी लिक भएर कम आपूर्ति भएपछि अस्पतालमा पानीको ठूलो संकट परेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्यराले बताए ।
बोरिङ बिग्रिएपछि अस्पतालको बहिरंग विभाग, शौचालयका साथै अन्य विभागहरूमा पानीको आपूर्ति बन्द भएको छ । अतिआवश्यक सेवा दिइने विभागहरूमा भने पानीको आपूर्ति नियमित राखिएकाले व्यवस्थापन जसोतसो भएको सूचना अधिकारी रोस्याराले बताए । बिग्रेका दुवै बोरिङ मंगलबारसम्म मर्मत भएको छैन ।
पानीको संकट टार्न मंगलबार १० वटा ट्यांकरबाट पानी आपूर्ति गरी काम चलाइएको छ । बुधबार पनि बोरिङ मर्मत नभए पानीको संकट टड्कारो हुने कर्मचारीहरू बताउँछन् ।
छैन भरपर्दो स्रोत
तत्कालका लागि ट्यांकर या अन्य स्रोतबाट पानीको आपूर्ति गरेर काम चलाइए पनि पानीको अभावको दिगो व्यवस्थापन अस्पतालसँग छैन । गत वर्ष पनि बोरिङमा समस्या आएपछि धारामा धमिलो पानी आएको थियो । पानीको अभाव भएपछि गत वर्षदेखि ४ इञ्चको पाइप जडान गरी पानी आपूर्ति सुरु भएको थियो । अस्पताल सुरुमा ३०० शय्याको हुँदा १ इन्चको पाइपबाट मात्र पानी आपूर्ति हुन्थ्यो ।
बर्सेनि अन्तरंग र बहिरंग विभागमा बिरामीको चाप बढ्दै गएपछि बिरामी, चिकित्सक, कर्मचारी र कुरुवासहित दैनिक १३ हजार जनाले अस्पतालको पानी प्रयोग गर्छन् । अस्पतालको बहिरंग विभागमा दैनिक २ हजार २०० जना र तिनका साथीसहित ४ हजार ४०० जना आउँछन् भने अन्तरंग विभागमा १ हजार जना र तिनका कुरुवा तथा भेट्न आउने मानिस र अस्पतालमा विद्यार्थी, चिकित्सक र नर्ससहित ५ हजार जना दैनिक आउँछन् । यस हिसाबले दैनिक पानी प्रयोग गर्नेको संख्या करिब १३ हजार रहेको अस्पताल व्यवस्थानले जानकारी दिएको छ ।
कर्मचारीहरूका अनुसार अस्पतालमा पानीका लागि भरपर्दोे स्रोत नै छैन । पहिलाको तुलनामा पानीको स्रोतले अपुग हुँदै गएपछि बोरिङ बर्सेनि मर्मत गर्नुपरेको छ ।
‘सुरुमा ५० फिट गहिराइमा रहेको बोरिङबाट पानी आउन छाडेपछि हरेक वर्ष गहिराइ बढी खन्दै गए पनि पर्याप्त पानी आउन सकेको छैन’, सूचना अधिकारी रोस्याराले भने । बोरिङको गहिराइ ५०, ६५ हुँदै अहिले २४५ फिट भइसकेको छ तैपनि पानी आउन छाडेको छ ।
यो स्थितिले अस्पताललाई दैनिक आवश्यक पर्ने पानीको आपूर्ति अस्पतालभित्रको जमिनको स्रोतबाट सम्भव नदेखिएको उनले बताए ।
अस्पताल सार्वजनिक सेवाको ठाउँ भएकाले अस्पताल एक्लैले ठूलो परियोजनाका साथ पानीको स्रोत निर्माण गर्न नसक्ने भएकाले अस्पतालमा पानीको दिगो समाधान चाहिएको रोस्याराले बताए ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले अस्पतालले थप क्षमताको पानी माग गरेमा प्रक्रियाअनुसार ठूलो पाइपबाट पानी आपूर्ति गर्न तयार रहेको बताए । ‘यसका लागि अस्पतालले माग गर्नुपर्छ र केयूकेएलले पानीको एनालाइसिस गरेर आपूर्ति गर्न सक्छ’, उनले भने ।