२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

कविता : फेनोमेना

shivam cement
२०८१ चैत २ गते ०६:०५
Shares
कविता : फेनोमेना

-घनश्याम भण्डारी

फेनोमेना अर्थात् दुई ढुंगाबीचको तरुल
माटोसँग जोडिएर बलशाली भएको छ देश
दुनियाँको राजनीतिको पानीढलो 
उत्तरी छिमेकीको
एक चीन नीति चिहाएर सी जिनपिङ 
दक्षिणी छिमेकी 
धार्मिक जागरणमा नरेन्द्र मोदीलाई हेरौं
राष्ट्रियता, सार्वभौमिकता
अखण्डता र स्वाधीनतामा देश
अलि पर समुद्रपार अमेरिकामा
डोनाल्ड ट्रम्पको उदय
कम्युनिस्ट अवशेष पुटिनलाई रुसतिर हेरौं
उनीहरूको उदय
देशको ‘राष्ट्रवाद’सँग जोडिएको छ ।

राष्ट्रियता, सार्वभौमिकता
अखण्डता र स्वाधीनताको मामला
हामीलाई समय र इतिहासले
आज प्रश्न सोधेको छ–
‘वीर गोर्खालीका सन्तान तिमीहरू
बुद्दु भएर बहादुर भयौ
संसार बनाउँदै गर्दा
आफ्नो बिर्सिंदै गएको इतिहास छ
माटोको पक्षमा उभिने नेताहरू
अरूतिर शक्तिशाली भइरहने
जलवायु परिवर्तनमा अरूले दोष गर्ने
हामीचाहिँ दण्डित हुने ?’

हिमालको  मुनतिर जीवनबुटी 
भन्नुस् काम नगरेर
कहाँ मिलेको छ नाना र खाना ?
हिमालदेखि समुद्रसम्म फैलिएको छ पञ्चतत्त्व 
खुराफाती व्यावसायिक राष्ट्रवादीहरूदेखि सावधान !

देश बर्बाद भयो भनेर भएन
बर्बाद हुनुमा हाम्रो भूमिका के छ ?
यसको उत्तर दिन हजुर–हामी
सबै तयार हुनुपर्छ अब ! 

कैलाशदेखि गंगासम्म  
मानसरोवर, पञ्चकोशी, लुम्बिनी
बौद्धनाथ हुँदै बोधगयासम्म
शान्ति खोज्दै बर्बराउँदै
सामाजिक संजालमा
सत्तो सरापेर असाधारण संकल्पले देश बन्दैन
यहाँ पसिना चाहिएको छ ।

न रेडियोमा ‘यो देशले एउटा मानिस खोजिरहेछ ...’
गीत बजाएर हुन्छ
न नेतालाई सत्तो सरापेर 
देश त हजुर–हाम्रो
साझा संकल्पले बन्छ
सगरमाथा जस्तै हरेक नागरिकको
शिर ठाडो बनाउन 
लुम्बिनीको जस्तै विश्वलाई
शान्तिको अनुभूति दिलाउन 
आवेग, रिसराग, दुराग्रह, प्रतिशोध
पिएर बूढानीलकण्ठझैं
‘म बन्छु, मेरो देश बनाउँछु’ भनेर
लागेमा मनैदेखि
दुई ढुंगाबीचको तरुल
स्वाधीन, सम्पन्न, आत्मनिर्भर नेपाल
बन्ने छ छिट्टै सत्यम्, शिवम्, सुन्दरम ! 

(लेखक कर्णाली प्रदेश सामाजिक विकासमन्त्री हुन् ।)

ADV

सम्बन्धित खबर