रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आजदेखि २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
चौरजहारी नगरपालिका रुकुम पश्चिम, मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत एक स्वास्थ्य परियोजनाको आयोजना एवं चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा २ दिने नि:शुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविरको पहिलो दिन शनिबार चौरजहारी नगरपालिकाको वडा नम्बर १४ को वडा कार्यालयमा शिविर संचालन भएको छ भने दोस्रो दिन आइतबार वडा नम्बर १३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर संचालन हुने आयोजकले जानकारी दिएको छ ।
शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा तथा महिलाहरुमा हुने समस्याको चेकजाँच, उपचार तथा प्रेषण, पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने, पिसाब चुहिने तथा अन्य स्वास्थ्य समस्याको चेकजाँच र उपचार गरिने बताइएको छ ।
त्यस्तै शिविरमा गर्भवती तथा सुत्केरीहरुमा जटिलताको चेकजाँच, परिवार योजना सेवा तथा परामर्श सेवा, मनोसामाजिक मनोविमर्श सेवा र लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी परामर्श सेवा प्रदान गरिने चौरजहारी नगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर सुनारले जानकारी दिए ।