२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

एसिया नेसन कप चेसमा नेपालले आयोजक युएईलाई हरायो

Nada
२०८३ कार्तिक २६ गते १६:१५
Shares
एसिया नेसन कप चेसमा नेपालले आयोजक युएईलाई हरायो

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिया नेसन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो चरणको खेलमा आयोजक युएईको तेस्रो टोलीलाई पराजित गरेको छ।

युएई चेस फेडेरेसन र एसियन चेस फेडेरेसनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि आबुधाबीस्थित शेराटन आबुधाबी होटल एन्ड रिसोर्टमा प्रतियोगिता सञ्चालन भइरहेको छ। बुधबार सम्पन्न दोस्रो चरणको खेलमा नेपालले युएई–३ लाई ३–१ स्कोरले हराउँदै दुई अंक जोडेको हो।

नेपालका सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा र निकेन कुसाथाले आ–आफ्नो खेल जिते। सिलवालले १८६३ रेटेड अलीक खब्दुल्लालाई, रिसोनले १८५३ रेटेड अल्हेमेरीलाई तथा निकेनले १८५४ रेटेड फहाद अल अललाई पराजित गरे। यस्तै, मुहान नरसिंह श्रेष्ठ भने १७९९ रेटेड सुल्तान अलहुसेनसँग पराजित भए। यसअघि पहिलो चरणको खेलमा नेपाल विश्वकै बलियो टोलीमध्ये एक रुससँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो।

पहिलो बोर्डमा एफएम रुपेश जैसवाल २६८३ रेटेड ग्रान्डमास्टर एन्ड्रे इसिपेनसँग पराजित भए। दोस्रो बोर्डमा सीएम पुरुषोत्तम सिलवालले २६५४ रेटेड जीएम डानियल डुबोभसँग हार बेहोरे। त्यस्तै, तेस्रो बोर्डमा रिसोन थापा २६०८ रेटेड जीएम एलेक्सेया ग्रेवनसँग तथा चौथो बोर्डमा निकेन कुसाथा २५८८ रेटेड ग्रान्डमास्टरसँग पराजित भएका थिए।

नेपालले तेस्रो चरणमा मलेसियाको टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ। उक्त खेलमा पहिलो बोर्डमा एफएम रुपेश जैसवालले २३७० रेटेड आईएम किम एउ चान, दोस्रो बोर्डमा सीएम पुरुषोत्तम सिलवालले २३०६ रेटेड एफएम एर्न आङ, तेस्रो बोर्डमा रिसोन थापाले २२९२ रेटेड एफएम जु रेन लिन तथा चौथो बोर्डमा मुहान नरसिंह श्रेष्ठले २२५२ रेटेड एफएम जियानवेन वोङसँग प्रतिस्पर्धा गरिरहेका छन्।

कुल २० टोली सहभागी प्रतियोगिताको दोस्रो चरणको समाप्तिमा रुस, काजकिस्तान, भारत र चीन समान चार अंकसहित संयुक्त अग्रस्थानमा छन्। तेस्रो चरणमा भारत र काजकिस्तान, चीन र रुस, मंगोलिया र उज्बेकिस्तान तथा युएई र सिरियाबीच प्रतिस्पर्धा भइरहेको छ।

विश्वका उत्कृष्ट चेस खेलाडी सहभागी प्रतियोगितामा नेपाली खेलाडीले बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्। नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले नेपाली टोलीले टिम भावना र व्यक्तिगत उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा चुनौती प्रस्तुत गरिरहेको जानकारी दिएका छन्।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर