२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गण्डकी प्रदेश आख्यान महोत्सव : दश जिल्लाका साहित्यकारको जमघट

Nada
२०८१ चैत ३ गते ०८:२०
Shares
गण्डकी प्रदेश आख्यान महोत्सव : दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ : नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ ।

ncell

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ बाहेक १० जिल्लाका आख्यान विधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सवमा गण्डकी प्रदेशको आख्यान, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँच कथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो ।

महोत्सवमा डा. षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासको बारेमा प्रवचन दिएका थिए भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराईलगायतले टिप्पणी गरेका थिए ।

महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो । बहस कार्यक्रमको सहजीकरण प्राध्यापक डा. अशोक थापाले गरेका थिए । उक्त बहसमा सहभागी साहित्यकारहरू अमर न्यौपाने, प्रभा बराल, गनेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्दछन् ? कस्तो आख्यान लेख्ने ? आख्यानको सैद्धान्तिक स्वरूप र परम्परा लगायतको विषयमा आफ्नो धारणा राखेका थिए ।

प्राध्यापक डा. अशोक थापाले नै सहजीकरण गरेको तेस्रो चरणको ‘नलेखिएका कथा’ विषय कार्यक्रममा साहित्यकार रूपेन्द्र प्रभावी कटु, अञ्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजमा नलेखिएका कथाहरूको विषय औँल्याएका थिए ।

चौथो चरणको ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गरेका थिए ।

साहित्यकारले प्रस्तुत गरेका कथामाथि मुस्ताङका साहित्यकार बसन्त शेरचन प्रतिक्रियात्मक प्रस्तुति राखेका थिए । कार्यक्रमको पाँचौंँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताए । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको उनको भनाइ थियो ।

न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला एवं स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको उल्लेख गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर