नवलपरासी : नवलपरासी बर्दघाट नगरपालिका–४, दाउन्ने जंगलस्थित खुर्सानी खोलामा पर्ने पूर्व–पश्चिम राजमार्ग खण्डको सडक संचालनमा आएको छ । शुक्रबार राति ११ बजे परेको अविरल वर्षाका कारण आएको बाढीले सडकको वैकल्पिक ड्राइभर्सन बाटो कटान भएको थियो ।
करिब ६ देखि ७ मिटर भाग कटान गराएपछि राजमार्ग दुवैतर्फबाट अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक दिपेन्द्र बानियाँको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना सुरक्षाकर्मी सो स्थानमा खटिएका थिए । साथै, सडक डिभिजन कार्यालय, बुटवल र निर्माण कम्पनी चाइना कन्स्ट्रक्सनसँग समन्वय गरी तत्काल सडक मर्मत तथा पुनःस्थापना कार्य सुरू गरिएको थियो ।
द्रुतगतिमा भइरहेको मर्मतकार्यपछि शनिबार बिहान ९ बजेबाट सवारीसाधनलाई एकतर्फी रूपमा संचालन गराइएको थियो । त्यसपछि थप सुधार तथा संरक्षण कार्यहरू सम्पन्न गरी दिउँसो २ बजेबाट दुईतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको हो ।
राजमार्गमा दुवैतर्फ सवारी आवत–जावत सामान्य रूपमा भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा थप जोखिम हुन नदिनका लागि स्थायी संरचना निर्माणको तयारी भइरहेको र सडक विभागले आवश्यक प्राविधिक मूल्यांकन अघि बढाइरहेको छ ।
यस अवरोधले रातभर पूर्व–पश्चिम आवागमन गर्ने सवारीसाधन रोकिएको थियो, जसका कारण यात्रुहरूलाई निकै असहज भएको थियो । विशेष गरी मध्यरातमा बाटो अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा एम्बुलेन्स सेवामा असर परेको थियो । सम्बद्ध निकायले नागरिकहरूलाई वर्षायाममा जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।