२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु 

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते ११:१५
एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु 

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलु खेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलु खेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दंग परेका छन् ।

“आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भने, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” रू. पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुन: रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।

चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन् । “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उनले भने, “शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।”

 तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन् । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलु खेती गर्दै आएका छन् । उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलु खेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन् । 

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि बिचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनी बताउँछन् । किसानलाई मर्का नपर्ने गरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसक्नु भएको छ ।

पूर्वनगर प्रमुख दीलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीत भण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise