सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रत्येक वर्ष नीति तथा कार्यक्रममा समेट्ने एउटै कार्यक्रम छ– ‘मंगलगढी चोकमा आकाशे पुल ।’ प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समेटिन्छ तर आकाशे पुल निर्माणको प्रक्रियासमेत सुरु हुँदैन ।
नगरपालिकाले बजेटमा एक पटक मात्र होइन, हरेक वर्ष समावेश हुन्छ । गत वर्षको ११ असारमा वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र एरीचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुल निर्माण गर्ने घोषणा गरेको थियो ।
यस्तै, चालू आर्थिक वर्षमा पनि वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रममा मंगलगढी चोकमा आकाशे पुल बनाउने योजना उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमको २० नम्बरमा लेखिएको छ, ‘वीरेन्द्रनगरको मुख्य बजार ट्राफिक व्यवस्थापनका लागि मंगलगढी चोकमा आकाशे पुलको निर्माण कार्य अगाडि बढाइने छ ।’
तर, उक्त कार्य कागजमै सीमित छ । नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको उक्त योजना नगरपालिकाको दराजमा थन्किएर बसेको छ ।
नगरपालिकाले बजेटमा समेट्ने चासो दिए पनि निर्माणमा भने चासो नदेखाएको स्थानीयको आरोप छ । यस्तै, कतिपय स्थानीयले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडकको अवस्था नाजुक रहेको बताएका छन् भने यहाँ आकाशे पुल निर्माणको कल्पनै पनि नगरेको बताए ।
नगरपालिकाले हचुवाका भरमा अध्ययनै नगरी नीति तथा कार्यक्रम बनाउने हुँदा आकाशे पुलको परिकल्पना गरेको उनीहरूको भनाइ छ ।
भेरीगंगा– ३ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएका केशर वलीले यहाँ आकाशे पुल आवश्यक नभएको बताए । ‘सुर्खेतमा जेब्रा क्रसिङमा हिँड्नेजति पनि मान्छे छैनन् भने यहाँ आकाशे पुलको के आवश्यकता छ र ?’, उनले भने, ‘सुर्खेतले काठमाडौंको अनुकरण गरेर हुन्छ र ? कि त यहाँ ट्राफिकले मानिसहरू कन्ट्रोल गर्न नसकेको भए आकाशे पुलको निर्माण गर्ने हुन्थ्यो । सडकको अवस्था त भन्नै नसकिने छ भने त्यस्तो ठाउँमा आकाशे पुलको के काम ?’
उनले बरु जेब्रा क्रसका रेखा मेटिएका र ती रेखाहरू नयाँ बनाउन सुझाव दिए ।
जाजरकोट घर भई हाल सुर्खेत बस्दै आएका इन्जिनियर सुरेन्द्र खत्रीले मंगलगढी चोकमा आकाशे पुलको आवश्यक भएको बताए । ‘प्राविधिक हिसाबले मंगलगढी चोकमा जेब्रा क्रस बनाउने ठाउँ उपयुक्त छैन’, उनले मध्यान्हसँग भने, ‘राजधानी जस्तो ठाउँमा नागरिक र सवारी साधनको संख्या प्रतिदिन बढिरहेको छ । दुर्घटना हुनेको संख्या पनि उत्तिकै छ । त्यसैले, यहाँ सकेसम्म नगरपालिका वा प्रदेश सरकारले आकाशे पुल बनाउनुपर्छ ।’
उनले बरु नगरपालिका÷प्रदेश सरकारले जति सक्यो छिटो काम सुरु गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीयले पुलको आवश्यकता बताउँदै आए पनि यसतर्फ न नगरपालिकाले चासो दियो, न त प्रदेश सरकारले नै । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णाली प्रदेशको राजधानीमा दैनिक सवारी साधनको अत्यधिक चाप बढ्दै गएकाले यहाँ आकाशे पुल निर्माणको आवश्यकता भएको बताए । उनले दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदल यात्रुको सहजताका लागि आकाशे पुल अतिआवश्यक भएको उल्लेख गरे ।
‘यहाँ दिनानुदिन सवारी तथा मानिसको आगमन बढ्दै गएको छ । त्यसैले, यहाँ आकाशे पुल मात्र होइन, ट्राफिक बत्तीको समेत व्यवस्था हुन जरुरी छ’, उनले मध्यान्ह दैनिकसँग भने । अध्यक्ष कँडेलले नगरपालिका र प्रदेश सरकारले तदारुकता देखाएर पुल निर्माण गर्नुपर्ने बताए ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारले नगरपालिकाले उठाएको कार्यक्रम उपयुक्त भएको बताए । उनले सवारी साधनको दैनिक चाप बढ्दै गरेकाले मंगलगढी चोकमा आकाशे पुल अतिआवश्यक भएको दाबी गरे । त्यति मात्र होइन, उनले एरीचोकमा समेत पुल आवश्यक भएको जिकिर गरे ।
‘त्यहाँ मात्र होइन, एरीचोकमा समेत पुल आवश्यक छ । यदि पुल निर्माण भयो भने दुर्घटना धेरै न्यूनीकरण हुन सक्छ’, उनले भने, ‘यो त नगरपालिकाको सौदर्यको समेत विषय हो । पुल बनेपछि यहाँका स्थानीयहरूलाई सजिलो हुने हो बरु जति सक्यो छिटो निर्माण गरेको भए हुने हो ।’
प्रत्येक वर्ष डीपीआरकै बहाना
नगरपालिकाले लामो समयदेखि पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिरहेको जनाएको छ । तर, अहिलेसम्म पनि उक्त कामको अन्तिम टुंगो लागेको छैन । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले गत वर्षमै सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको बताएकी थिइन् । तर, हालसम्म पनि डीपीआरको काम सकिएको छैन । उनले गत वर्ष जस्तै यस वर्ष पनि सोही जबाफ दिएकी छन् ।
नगर प्रमुख ढकालले अहिले डीपीआरको काम अन्तिम चरणमा पुगेको र चैतको दोस्रो हप्तासम्म टेन्डर आह्वान हुनेगरी काम भइरहेको बताइन् ।
‘हामी अहिले डीपीआरको अन्तिम चरणमा छौं’, उनले मध्यान्हसँग भनिन्, ‘अबको चैत दोस्रो हप्तासम्म टेन्डर खुलाउँछौं ।’ नगर प्रमुख ढकालका अनुसार गत वर्ष हिउँदे अधिवेशनबाट आकाशे पुलको सम्भाव्यताका लागि करिब ५ लाख बजेट विनियोजन भएको थियो ।
तर, परियोजना पूरा नभएकाले उक्त बजेट खर्च हुन सकेको थिएन । यस वर्ष पनि नगरपालिकाले पुल निर्माणका लागि करिब १ करोड रकम छुट्याएको छ । उक्त रकम डीपीआरको काम सम्पन्न भएपछि मात्र खर्च हुने उनको दाबी छ ।
अहिलेसम्म सो बजेट १ प्रतिशत पनि खर्च नभएको नगरपालिकाका इन्जिनियर हरि केसीले बताए । ‘करिब १ करोड बजेट छ, अहिले डीपीआरको काम चलेको छ, डीपीआर भएपछि मात्र सो रकम खर्च हुन्छ’, उनले भने, ‘गत वर्ष कामै भएन, कामै नभएपछि बजेट खर्च हुने कुरै भएन, अब यस वर्ष सायद केही काम अगाडि बढ्न सक्छ अनि रकम खर्च होला ।’