– झलक शर्मा
युवा वर्ग राज्यको महत्त्वपूर्ण जनशक्ति हो । युवाहरूमा आँट, साहस, उत्साह, इच्छा, आकांक्षा हुनुका साथै मनोवैज्ञानिक एवं शारीरिक रूपले पनि सक्षम हुने गर्छन् । युवाले नै देश निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवा वर्गको गरिमामय भूमिकालाई राज्यले प्रशंसा गर्नै पर्छ । जस्तोसुकै परिस्थितिमा पनि देशभक्तिमा लाग्ने युवाहरू साँच्चै देशको दरिलो खम्बाको रूपमा उभ्याउनु जरुरी छ ।
राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ वर्षदेखि ४० वर्षको उमेरसम्मका नागरिकलाई युवाका रूपमा परिभाषित गरेको छ । राज्य संचालनका हरेक प्रक्रियामा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका सुनिश्चित हुनु आवश्यक छ ।
युवालाई गुणस्तरीय, समय सापेक्ष रोजगारमूलक शिक्षा, व्यावसायिक सीप, विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धानका लागि पहुँच, उद्यमशीलताका लागि केही अवसरहरू सिर्जना गर्नुपर्ने भएको छ । नेपालमा बढ्दै गएको राजनीतिक वितृष्णाले युवा वर्गमा नैराश्य बढ्दै गएको छ ।
युवा वर्गका सवालहरू पुरा हुनुको सट्टा सरकार व्यक्तिगत स्वार्थको दलदलमा फसिसकेको छ । सरकारले युवा वर्गलाई के–कस्तो अवसर कसरी प्रदान ग¥यो भने कुरालाई ध्यान दिनु जरुरी छ । अवसरहरू बेला बखतमा युवा वर्गलाई नै लक्षित छन् तर त्यसमा लाभ प्राप्तिमा युवा वर्गले समान रूपमा पाएका छन् वा छैनन्, त्यसबारे विचार पु¥याउनुपर्ने छ ।
सरकारले प्रदान गरेको लाभ, अवसरहरूमा राजनीतिक दलकै कार्यकर्ताको हालीमुहाली छ । राजनीतिक दलमा आबद्ध नभएका युवाहरूले त्यस्ता अवसरबारे न जानकारी पाउँछन्, न त त्यसको पहुँचमा नै पुग्न सक्छन् ।
अहिले नेपालमा रहेका युवाहरू उद्यमशीलतामा भन्दा वैदेशिक रोजगारीमा रमाउन चाहन्छन् । विदेश जानु नै जीवनको सपना पूरा भएको अनुभूत गर्छन् । तर, विदेशमा श्रमको उचित मूल्य पाइँदैन भन्ने कुरामा भने युवाहरू मौन नै बस्छन् । केही वर्ष विदेशमा दुःख गरेर नेपाल फर्किएर बिलासी जीवन जिउने परिकल्पनामा युवाहरू रमाउने गर्छन् ।
विदेश पलायनले नेपाली युवामा रहेको सिर्जनात्मक क्षमता, बौद्धिकतालाई लोप गराई ओझेलमा पारिदिएको हुन्छ । त्यसको ठीक विपरीत नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उचित अवसर र संरक्षण दिन सकिरहेको अवस्था छैन । उनीहरूले विदेशमा सिकेको सीप, ज्ञान प्रविधिलाई नेपालले उपयोग गर्न सकेको छैन ।
मुलुकमा लगानीमैत्री वातावरण निर्माण हुन नसक्दा अर्थतन्त्र खस्कँदै गएको छ । यतिबेला मुलुकको आर्थिक अवस्थामा व्यापक सुधार गर्नु टड्कारो आवश्यकता देखिएको छ । सरकारले लगानी अभिवृद्धि गर्ने, औद्योगिकीकरणमा जोड दिने हो भने सहजै रोजगारी सिर्जना गर्न सकिन्छ । अर्थतन्त्रलाई सबल बनाउन युवालाई उद्यमशीलतामा जोड्नु आवश्यक छ ।
नेपालमा थुप्रै स्रोत साधन, कच्चा पदार्थ, जमिनहरू छन् भने पुँजीको न्यूनता छ । अनुत्पादक क्षेत्रमा पुँजी लगानी हुने समस्या भने बढ्दै गएको छ । कृषि उद्यमलाई प्रोत्साहन गरी कृषि औजार, मल, बिउ–बीजन समयमा नै उपलब्ध गराउन सक्नुपर्छ । कृषि उत्पादनका लागि भौतिक पूर्वाधारहरू बाटोघाटो, बिजुली, सिँचाइ आदिको निर्माण गर्नु आवश्यक छ ।
उत्पादित कृषि उपजको उपयुक्त बजारको व्यवस्था गरिदिने, सरकारले समर्थन मूल्य तोक्ने, बजार नपाएका खण्डमा सरकारकै सक्रियतामा विक्री–वितरण गर्ने अथवा सरकारले नै खाद्य तथा व्यापार कम्पनीमार्फत खरिद गरिदिनु आवश्यक छ ।
कृषिलगायत अन्य क्षेत्रमा पनि अब्बल बनाउन राज्यका तर्फबाट प्रयत्न गरिरहनुपर्छ । मोबाइल, टीभी, फ्रिज, ल्यापटप मर्मत, हाउस वायरिङ, ब्युटिसियन तालिमहरू प्रदान गरेर उद्यमशीलताको बाटो देखाउनुपर्छ ।
व्यापार व्यवसाय गर्न चाहने युवालाई करको दायराबाट केही प्रतिशत छुट दिई राज्यले सहुलियत दिनुपर्छ । आजभोलि नेपाली युवाहरू पर्यटकीय क्षेत्रमा लगानी गर्न उत्साहित पनि देखिन्छन् । प्याराग्लाइडिङ, बन्जी जम्प, रक क्लाइम्बिङ तथा एड्भेन्चरस खेलमा लगानी गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन उल्लेखनीय भूमिका खेलेको देख्न सकिन्छ ।
त्यसैले, राज्यले पर्यटकीय गतिविधि संचालन गर्न पर्यटकीय गन्तव्यको खोजी गरिदिनु, नयाँनयाँ पदमार्गको निर्माण गर्नु जरुरी छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै अब सक्रिय राजनीतिक दलहरू आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने देखिन्छ । निजी क्षेत्रलाई क्रियाशील बनाउँदै व्यावसायिक कुशलता र उद्यमशीलता विकासमा जोड दिनु उचित हुन्छ ।
मुलुकको १६औं आवधिक योजनामा राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रममार्फत युवालाई परिचालन गर्ने सोच राखेको छ । नयाँ उद्यम–व्यवसाय गर्न चाहने युवाहरूलाई स्टार्ट अप उद्योग–व्यवसाय स्थापना गर्न प्राविधिक सहयोग, पुँजीगत अनुदान, सहुलियतपूर्ण ऋण तथा बजारको व्यवस्था गर्नुपर्छ ।
सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमार्फत उद्यमशीलताको विकासका लागि व्यावसायिक तथा सीप विकास तालिमको व्यवस्था गर्ने, सिक्दै कमाउँदै, पढ्दै कमाउँदै तथा कमाउँदै पढ्दै भन्ने सरकारको लोकप्रिय नारालाई कार्यान्वयनमा ल्याउन जरुरी छ । बेरोजगार सहायता कार्यक्रम संचालन गर्ने, स्थानीय स्तरका लघु, साना र मझौला उद्योगको विकास गर्ने, वैदेशिक विलासिताका सामानको प्रयोगलाई निरुत्साहित गरी स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।
परम्परागत सीप, कला तथा पेसालाई संरक्षण तथा व्यावसायीकरण गर्नुपर्छ । निजी क्षेत्रको लगानी आकर्षित गर्न सार्वजनिक–निजी साझेदारी र वैदेशिक लगानीकर्तासँगको साझेदारीलाई प्रोत्साहन गर्नुपर्छ ।
युवालाई उद्यमशीलतामा प्रेरित गर्न एक स्थानीय तह, एक विशिष्टीकृत उत्पादनका माध्यमबाट कृषिको व्यावसायीकरण र विविधीकरण गर्नुपर्छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी स्वदेशी वस्तुको बजारीकरणमा विस्तार गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहको प्रयासमा सिँचाइ सुविधा विस्तार गर्ने, रासायनिक मलको नियमित आपूर्तिमा जोड दिने, कृषिमा यान्त्रीकरण भित्र्याई कामलाई सरल र सहज बनाउने एवं कम खर्चिलो बनाउनुपर्छ ।
युवामा अन्तर्निहित प्रतिभा प्रस्फुटन, सीप र क्षमता विकास गर्न राज्यले व्यापक लगानी गर्नु अपरिहार्य छ । यस विषयमा सरकार, राजनीतिक दल, नागरिक समाजको ऐक्यबद्धताको आवश्यकता पर्छ । उद्यमशीलता विकास गर्न व्यवसाय सिर्जनासम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन गर्नुपर्छ । श्रम बजार र श्रम शक्ति उत्पादनमा देखिएको असामञ्जस्य कम गर्दै श्रम बजारको आवश्यकताअनुसार युवा जनशक्ति तयार गर्न जोड दिनुपर्छ ।
उद्यमशीलताका क्षेत्रमा लगानी गर्ने युवाका विभिन्न किसिमका उद्यमहरूलाई राज्यले बीमाको व्यवस्था मिलाउनुपर्ने छ । युवालाई स्वदेश तथा विदेशको अनुभव दिलाउन ज्ञान आदान–प्रदान, अध्ययन भ्रमण, देश दर्शन तथा युवा शिविर कार्यक्रम संचालन गर्न सकेमा सक्षम युवा निर्माण गर्न सकिन्छ ।