धनगढी : ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण: पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम पृतना तेघरी ब्यारेकमा आयोजित विशेष समारोहमा उक्त सम्मेलनको उद्घाटन गरे । प्रधानसेनापति सिग्देलले सैनिक नेतृत्व सम्हाल्नु भएपछि पहिलो पटक सुदूरपश्चिम पृतनाबाट भूपू सम्मलेनल सुरु भएको हो । सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने दुई हजार नौ सय २५ भूपू सैनिक सहभागी छन् ।
आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकैसाथ सम्मेलन सुरु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । सुदूरपश्चिमका सात पहाडी जिल्लामा भएको उक्त सम्मेलनमा नौ सय आठ भूपू सैनिकको सहभागिता छ ।
सम्मेलनको उद्घाटन सत्रमा भूपू सैनिकबाट मार्चपास, एकल महिलाका तर्फबाट प्लेकार्डसहितको मार्च पास, सुदुरपश्चिमको स्थानीय कला संस्कृति झल्कने झाँकी तथा नाच र सैनिक शारीरिक क्षमता झल्कने पिटी र सैनिक ब्याण्डद्वारा प्रदर्शन गरिएको थियो ।
सम्मेलनका दौरान ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्विलचियर/बैसाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान प्रदान गरियो । नेपाली सेनामा चार जनाभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत अभिभावकलाई सम्मान, सहुलियत पूर्ण कर्जा चेक हस्तान्तरण र प्रधान सेनापति प्रशंसा निसान प्रदान गरियो ।
यस्तै प्रधानसेनापति सिग्देलले सम्मेलनका क्रममा भूपू सैनिक तथा एकल महिलासँग सामूहिक छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ । सेनाले शुक्रबार उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भूपू सैनिक सम्मेलन गर्दैछ ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने चलन रहिआएको छ । विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सेना भूपू सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।
सम्मेलन जीवनको महत्त्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको अवसर हो । सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने अपेक्षा गरिएको छ । सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट तथा विचार आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्छ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्र सेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ ।