काठमाडौं : कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो ।
प्रारम्भमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र संलग्नता पुष्टि भएको हो । केराउ तस्करीमा अवरोध गर्न खोजेपछि उनिहरुले असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।
अभियुक्तले हत्या स्वीकारेपछि खोजतलासका क्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies