रौतहट : हावाहुरीसँगै आएको असिनाका कारण रौतहटमा ठूलो क्षति भएको छ । शुुक्रबार राति परेको असिना पानीले सयौं घरका छानाको टायल र खपडा फुुटेर चुुहिने भएका छन् । रौतहटको बृन्दावन नगरपालिका, चन्द्रपुर नगरपालिका, गुजारा नगरपालिका, गढिमाइ नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाको केही भाग असिनाबाट प्रभावित बनेका छन् । स्थानीयका अनुसार असिना पर्दा घर तथा किसानले लगाएको बाली नष्ट भएको छ ।
मकै बाली, तरकारी बाली, गहुँ बाली लगायतका बालीमा पूर्ण क्षति भएको किसानहरुले बताएका छन् । बृन्दावन नगरपालिकाको दुुईवटा वडामा १ सय भन्दा बढी घरका छाना भत्किएको नगरप्रमुख बिनोद पटेलले जानकारी दिए । त्यसैगरी सैयौं बिगाहा जमिनमा लगाएको बाली समेत नष्ट भएर करोडौंको क्षति भएको मेयर पटेलले बताए । चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु चिन्ता व्यक्त गरेका छन् ।
वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले करेसाबारी तथा मकैबाली पूर्णरूपमा क्षति पुगेको बताए । राउतका अनुसार उनले खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ ।
वृन्दावन–१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो नोक्सानी व्यहोरेका छन् । प्रेमलाल पटेलले १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबाली पूर्ण रुपमा गुमाएका छन् ।
बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले बताए । चन्द्रपुरको विभिन्न भागमा किसानले लगाएको मकै,गहुँ,तरकारी,फलफूल लगायत नगदे बाली नष्ट गरेको छ । किसानको लाखौको लगानी र मेहनत खेर गएको मेयर संजय काफ्लेले बताए ।