सर्लाही : शनिबार बिहान हावाहुरी, असिनासहितको वर्षाले सर्लाहीमा मकै खेतीमा क्षति पु¥याएको छ ।
जिल्लाको उत्तरी पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा लगाइएको सयौं बिगाह मकै खेती हावाहुरी र असिना पानीले क्षति पु¥याएको हो ।
हावाहुरी र असिनाले बरहथवा, बागमती, ईश्वरपुर नगरपालिकामा लगाएको मकैलगायत तरकारी, दलहन, फलफूल अन्य बालीनालीमा नोक्सान गरेको स्थानीयले बताएका छन् ।
बागमती नगरपालिका ८ सोल्टीका कृष्णदेव महतोले लगाएको एक बिगाह मकैमा असिनाले क्षति पु¥याएको गुनासो गरे ।
उनका अनुसार मकैको बोटमा भर्खंरै लागेको सुत्लामा क्षति पु¥याएको छ । असिनासहितको वर्षा र हुरीले जिल्लाको बरहथवा र बागमती क्षेत्रमा भर्खरै सुत्ला लागेको मकै बालीमा क्षति गरेको छ । असिना पानीले मकैको बोटमा व्यापक क्षति पु¥याएको बरहथवा –२, हजरियाक गाबिन्द कार्कीले जानकारी दिए ।
जिल्लाको दक्षिणी भेगमा भने दलहन र गहुँ खेतीमा असिनाले क्षति नोक्सान गरेको छ । भित्र्याउने तयारीमा रहेको बाली अचानक असिनाले क्षति भएपछि लगानीसमेत नउठ्ने चक्रघट्टाका किसान सोनेलाल साहले गुनासो गरे ।
यता कृषि ज्ञानकेन्द्र मलंगवाले भने हावाहुरी र असिनाले गरेको क्षतिको बारेमा केही जानकारी नभएको जनाएको छ । ६ महिनापछि आकाशे वर्षा हुँदा यस क्षेत्रमा तत्कालका लागि धुँलोधुँवाको प्रदूषण घटेको छ । वर्षाले वन क्षेत्रमा लागेको डढेलो निभाउन सहयोग पुगेको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले बताए ।