काठमाडौं : विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य अन्तर्गत सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका लागि ‘Walk for Water, Walk for Life’ वाकाथन कार्यक्रम आयोजना गरेको हो ।
यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो । कार्यक्रम उद्घाटन गर्दै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनुपर्ने धारणा राखे । उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए ।
बैंकले आयोजना गरेको ५ कि।मी। लामो प्रभातफेरीमा नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरु गरी ६५६ जनाको सहभागिता थियो ।
सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यताहरुलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरु समेत लागू गरिसकेको छ । हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव त्पर छ भने पुनर्नवीकरणीय उर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक बृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिवद्ध रहेको छ ।