२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

Nada
२०८१ चैत ११ गते १२:२३
Shares
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

पर्साः चालू आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

ncell

गत आवको  आठ महिनाका तुलनामा चालू आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा रु एक खर्ब  २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ’, उनले भने । कार्यालयका अनुसार, चालू आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो ।

चालू आवको आठ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट रु २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालू आवको आठ महिनामा रु २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार तीन सय ८२  किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।

चालू आवको आठ महिनामा रु २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने रु १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर