तनहुँः सवारी दुर्घटनामा परी तनहुँमा ९ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो । चालु आवको साउनमा मृत्यु नभएको, भदौमा २९, असोजमा ४, कात्तिकमा २, मङ्सिरमा १, पुसमा २, माघमा ८, फागुनमा १ र चैत १० गतेभित्र थप १ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ हजार ६४१ सवारीबाट रु २ करोड ३ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको छ । कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक, टिपर, बस, जिप, मोटरसाइकल, स्कुटरलगायत सवारीलाई कारबाही गरी उक्त रकम असुलेको हो ।
तीव्रगतिमा सवारी चलाउनेलाई राडरगनका माध्यमबाट समयसमयमा अनुगमन गरी कारबाही पनि हुँदै आएको उनले जानकारी दिए । मुग्लिन– पोखरा सडक विस्तार भइरहेकाले दुर्घटना जोखिम घटाउन सुरक्षाकर्मीले हरसम्भव प्रयास गरेका उनले बताए ।