
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने जानकारी दिइएको भए पनि १२ः५७ बजे नै टिकट सकिएको विवरण देखिएको थियो । बिक्री समय सुरु भएपछि पनि टिकट खरिद गर्न नसकिएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले अत्यधिक मागका कारण केही मिनेटमै सबै टिकट बिक्री भएको स्पष्ट पारेको छ । क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टिकट बिक्री खुला हुँदा करिब २ लाख प्रयोगकर्ताले एकैपटक खरिद प्रयास गरेकाले यस्तो अवस्था आएको बताएका छन् ।
मैदानको सीमित क्षमताका कारण सबै दर्शकलाई टिकट उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै क्यानले असुविधाप्रति क्षमायाचना गरेको छ । टिकट नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्मबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न पनि क्यानले आग्रह गरेको छ ।
एनपिएलको फाइनल खेल शनिबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
फाइनलका लागि सामान्यतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो ।